म्याग्दी, १५ चैत्र– पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहुँदा दाताले दिएको मेसिन प्रयोगविहीन भएको हो ।
एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट–३२५ आई नेपालले उपलब्ध गराएको ५ सय एमए एक्सरे मेसिन उपयोगहीन भएको लायन्स क्लब अफ दरबाङका अध्यक्ष थमन गौतमले जानकारी दिए ।
स्वास्थ्य केन्द्रमा मालिका, धवलागिरी गाउँपालिकाका साथै छिमेकी बागलुङका विभिन्न बस्तीबाट बिरामी आउने गर्दछन् । दैनिक ३० देखि ४० जनाले सेवा लिने केन्द्रमा अति आवश्यक एक्सरे मेसिन प्रयोगमा नआएपछि समस्या भएको छ ।
स्वास्थ्य केन्द्रका डा. विजय शर्माले एक्सरे मेसिन प्रयोग नहुँदा समस्या भएको र विद्युत् आपूर्ति गरी सञ्चालनको पहल भइरहेको जानकारी दिए । उनका अनुसार स्पेपलाइजर ५० केभीएको मेसिन गाउँपालिकाले खरिद गर्ने सम्झौता भएको छ ।
एक्सरे मेसिन प्रयोगका लागि निक साइमनबाट रेडियोग्राफर सुमन चक्रधर केन्द्रमा कार्यरत छन् । लायन्स क्लबले केन्द्रलाई कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो ।