बागलुङ, १६ चैत्र– ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्यूनिकरणका लागि चालक–यात्रु परिचायत्मक कार्यक्रमको सुरुवात गरेको छ ।
लामोदुरीको सवारी चलाउँदा यात्रुले चालक र सह–चालकको परिचय आवश्यक रहेको भन्दै चालक–यात्रु परिचय कार्यक्रम थालिएको ट्राफिक कार्यालय बागलुङका निमित्त प्रमुख प्याम नारायण पौडेलले जानकारी दिए ।
‘दुर्घटनाको भित्री कारण खोतल्दा लामो यात्रामा सह–चालकले सवारी चलाउँदा बढी दुर्घटना भएको पाइयो’ पौडेलले भने, ‘चालक–यात्रुको परिचय हुँदा लामो दुरीमा सहचालकले सवारी चलाए यात्रुले ट्राफिकको हटलाईनमा सम्पर्क गर्न सक्नुहुनेछ ।’
हालै मात्र मुस्ताङमा दुर्घटना भएको यात्रुबाहक बस सह–चालकले चलाउँदा दुर्घटना भएको अनुसन्धानबाट खुलेको थियो । अधिकांश दुर्घटना सिकारु चालकका कारण भएको हुँदा चालक–यात्रु परिचात्मक कार्यक्रम संचालन गरिएको पौडेलले बताए ।
सह–चालकले सवारी चलाएको गुनासो आउन थालेपछि लामो दुरीका सवारीलाई बाटोमै रोकेर चालक, सह–चालक र यात्रुबीच परिचय गराइने पौडेलको भनाई छ । गण्डकी प्रदेशमै पहिलोपटक बागलुङबाट दुर्घटना न्यूनिकरण गर्न परिचायत्मक कार्यक्रम थालिएको हो ।
एक महिनासम्म चल्ने परिचय कार्यक्रमले दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरीले अपेक्षा गरेको छ । ट्राफिकले सरप्रराईज चेकिङ, सडकमै प्रयोगात्मक परिक्षा र सार्वजनिक स्थल तथा विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम गर्दै आएको छ ।