पर्वत, १७ चैत्र– को दक्षिण भेग र सदरमुकाम जोड्ने कुश्मा ज्ञादी झोलुङ्गे पुलको मर्मतसम्भार नहुँदा दुर्घटनाको जोखिम बढेको छ । पुल निर्माण भएको दुई दशकमा पनि मर्मत सम्भारमा गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् ।
पुलमा बिछ्याइएका फलामका डेक उप्केर नटबोल्ट खुकुलो हुने र कुनै ठाउँमा नटबोल्ट नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । मोदी खोलामाथि रहेको एक सय ३५ मिटर उचाइ र तीन सय ४४ मिटर लम्बाइको झोलुङ्गे पुलमा दैनिक तीन सयभन्दा बढी मोटरसाइकल ओहोरदोहोर गर्दै आएका छन् ।
‘गाउँको कृषि उत्पादन बजार ल्याउनेदेखि पर्वतको दक्षिण भेगलाई कुश्मासँग जोड्न पुल निर्माण गरिएको हो’ पुल संरक्षण समितिका अध्यक्ष शिव शर्मा पौडेलले भने, ‘पुलमा मोटरसाइकल गुडाउन लगाएको रोक कार्यान्वयन नहुँदा दुर्घटनाको जोखिम बढ्यो ।’
शर्माले पुुल मर्मतका लागि कुश्मा नगरपालिकाको ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको बताए । ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो’ शर्माले भने, ‘स्थानीय सरकारले पुल मर्मत गर्न बेवास्ता गर्नु दुर्भाग्यपूर्ण छ ।’
पर्वतकै पहिलो नमूना कुश्मा–ज्ञादी झोलुङ्गे पुलले फलेवास नगरपालिका र तीन गाउँपालिका महाशीला, पैयुँ र बिहादीलाई सदरमुकाम कुश्मासँग जोडेको छ । एक घण्टाको बाटो उकालो र ओरालो गर्दै कुश्मा आउनुपर्ने झन्झट हटेर तीन मिनेटमा सीमित बनेको छ ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सदरमुकाम जोड्ने सबै पुलको प्राविधिक चेकजाँच गरी मर्मतसम्भारका लागि कार्यपालिकामा छलफल गरिने बताए । सम्भव भएमा नगरकै र असम्भव भए प्रदेश र संघमा बजेट माग गरिने जोशीको भनाई छ ।