बागलुङ, १९ चैत्र– जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व बिषयगत बिज्ञहरुको सम्मेलन सुरु गरेको छ । बिषयगत क्षेत्र विकास र स्रोत साधनको अधिकतम परिचालनका लागि बिज्ञ सम्मेलन गरिएको हो ।
शनिबारदेखि सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने छ । सम्मेलनमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र बाँदर नियन्त्रण सम्मका बिज्ञहरुको सहभागिता रहने नगरप्रमुख नरबहादुर पुनले बताए । ‘जान्नेले गर्नु र नजान्ने गर्नुमा धेरै फरक पर्छ, त्यसैले समृद्ध जैमिनीका लागि भेला आयोजना गरिएको हो’ पुनले भने ‘यो सम्मेलनले हामप्लाई आधारभुत तहको जान्ने बनाउँछ, त्यसपछि बिषयगत रुपमा जान्ने हुने प्रयत्न गर्ने छौं ।’
नगरपालिकाले विकासको मोडल, अहिले भए गरेका काममा रहेका समस्या र आगामप् कार्ययोजना बनाउँदा अपनाउनुपर्ने बिधिका बिषयमा बिज्ञहरुसँग छलफल गर्ने जनाएको छ । सम्मेलनमा नगरका सबै क्षेत्रका कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारण सहभागी छन् ।
सम्मेलनमा कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. गोविन्द आचार्यले कृषि, गण्डकी प्रदेशको कृषि उर्जा तथा जलस्रोत मन्त्रालयका डा. ग्रृश्म न्यौपानेले पशुविकास, लोक सेवा आयोग केन्द्रिय कार्यालयका उपसचिव देवी प्रसाद सुवेदीले अर्थ/सार्वजनिक बित्त व्यवस्थापन, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. बिमल चालिसेले स्वास्थ्यका बिषयमा सहजीकरण गर्नेछन् ।
त्यस्तै, शिक्षाबिद् प्रा. डा. विद्यानाथ कोइरालाले शिक्षा, पूर्वाधार विकास निर्देशनालय पोखराका सि. इञ्जिनियर रामबाबु पौडेलले पूर्वाधार बिकास, छत्रदेव गाउँपालिका गुल्मीका पूर्व अध्यक्ष लेखनाथ पोखरेलले बाँदर नियन्त्रण, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका बरिष्ठ बाली वैज्ञानिक रमेश आचार्यले कृषि अनुसन्धान र नेपाल नगरपालिका संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष इ. दीपकबाबु कँडेलले स्थानीस्य तह बिकासका बिषयमा सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।
‘हामिले सगरमाथा चढ्ने लक्ष राखेका छौं, त्यहाँ पुग्नका लागि उचाई, बाटो र बन्दोबस्तीका बिषयमा सगरमाथा नाप्नेहरुले बताउनुहुन्छ, त्यस्तै हो नगरको विकास पनि, उहाँहरुले बाटो देखाईदिनुहुन्छ, हामप्ले कडा मेहनत गरेर लक्ष्य प्राप्ती गर्ने छौं’ नगरप्रमुख पुनले भने ।
बिज्ञताबिना योजना बनाउँदा काम र व्यवहारिकता फरक पर्ने भएकाले नगरले बिज्ञ सम्मेलन गरेको उपप्रमुख हरिहर शर्माले बताए । जैमिनीले गरेको सम्मेलन जिल्लाका अन्य स्थानीय तहका लागि सिकाईको बिषय हुने जिल्ला समन्वय प्रमुख अमर थापाले बताए ।