मुस्ताङ, २० चैत्र– मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरो गाउँस्थित छैरो छहरा गुम्बा ओझेलमा परेको छ । पाँच शताब्दी पुरानो धार्मिक तीर्थस्थल उक्त गुम्बप्रचारप्रसारको अभावमा गुमनाम बनेको छ ।
बेनी–जोमसोम–कोरोला सडकअन्तर्गत मुस्ताङको घरपझोङ–२ मार्फाको पारिपट्टि अवस्थित छहरा गुम्बा हालसम्म सडक सञ्जालसित जोडिएको छैन । धार्मिक आस्था र विश्वासकै कारण गुम्बामा बर्सेनि ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका स्थानीयवासी बताउँछन् । छैरो झण्डै ५० परिवारको बसोबास छ ।
छैरो छहरा गुम्बा मुस्ताङकै पुरानो हो । भौगोलिक विकटताका कारण गुम्बा ओझेलमा परेको स्थानीय सोमप्रसाद शेरचन बताउँछन् । ‘आर्थिक अवस्था कमजोर यहाँका बासिन्दा रोजगारका लागि अन्यत्र जाने गरेका छन्’ उनले भने । स्थानीयको बसाइँसराइका कारण गुम्बाको संरक्षण हुन नसकेको शेरचनले बताए ।
पछिल्लो समय गुम्बाको महत्वलाई बुझेर यसको संरक्षण र विकासमा स्थानीय तह, प्रदेश र संघ सरकारले पूर्वाधार निर्माणमा सहयोग गर्दै आएका छन् । गुम्बामा पाँच शताब्दी पुराना वास्तुकला, भगवान् गौतमबुद्धका मूर्ति रहेका छन् । गुरु रिन्पोन्छेको विशाल मूर्तिले गुम्बाको गरिमा र महत्व बढाएको छ ।
स्थानीय र प्रदेश सरकारले छुट्याएको बजेटबाट यहाँ गुम्बालगायत संरचना पुनःनिर्माण गरिएका छन् । गुम्बाको ऐतिहासिक पक्षको प्रचारप्रसार गर्न सके मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय बासिन्दा बताउँछन् । गुम्बाको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको गुम्बाका लामा रामु थकालीले जानकारी दिए ।
छैरोकापूर्व गाउँका मुखिया कृष्णबहादुर गौचनका अनुसार, गुम्बामा घ्यल्बो पूजा र गाउँको रक्षाको कामना गर्दै प्रत्येक तीन÷तीन वर्षमा ऋनन्जी पूजापाठ हुने गरेको छ । छैरो छहरा गुम्बा वैशाख पहिलो सातादेखि मंसिर महिनाभर पूजापाठका लागि खुला हुन्छ ।