म्याग्दी, २१ चैत्र– जिल्लाको बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले कालीपुल बसपार्कलाई व्यवस्थित रुपमा सञ्चालन गर्न गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो ।
कालीपुल बसपार्कमा यात्रुलाई सहज सुविधाका लागि टर्मिनल भवन निर्माण गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । भवन निर्माणसँगै बेनी नगरपालिकाले यातायात व्यवसायीका टिकट काउण्टरलाई टर्मिनल भवनमा राख्ने तयारी थालेको छ ।
आयोजना कार्यालयसँग २ करोड ८५ लाखमा योजना सम्झौता गरेको शुभ कन्स्ट्रक्सनले भवन निर्माणको काम सम्पन्न गरेको छ । आयोजनाकी इन्जिनियर बिना साकटुले भवन केही दिनमा बेनी नगरपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिइन् ।
नवनिर्मित भवनमा सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतीक्षालय लगायतको सुविधा रहेको छ । अपाङ्गमैत्री भौतिक संरचना निर्माण गरिएको टर्मिनल भवनमा नगरले टिकट काउण्टर सञ्चालनका लागि प्रयोग गर्ने जनाएको छ ।
अहिले बसपार्क क्षेत्रमा अस्थायी पूर्वाधार र अन्य क्षेत्रमा काउण्टर राखेर सेवा दिँदै आएका यातायात व्यवसायीले टर्मिनल भवनमा काउण्टर राख्ने भएपछि यात्रुलाई सहज हुने छ । सवारी साधनको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित र फराकिलो बनाउन लागिएको छ ।
२०७४ मा सहरी विकास मन्त्रालयले २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना तयारी पारेको थियो । गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघ सरकारको सहकार्यमा बसपार्क ढलान, नाली निर्माण गर्ने लगायतका पूर्वाधार निर्माण भइरहेको छ ।