म्याग्दी, २१ चैत्र– जिल्लाको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कमा चट्याङ लागेर तिर्थयात्री भवन पूर्ण रुपमा क्षति भएको छ । प्रसिद्ध धार्मिक स्थल रिखार जाने तिर्थयात्रीहरुलाई लक्षित गरि पात्लेखर्कमा निर्माण गरिएको तिर्थयात्री भवन चट्याङ लागेर पूर्ण रुपमा क्षति भएको सप्तऋषि रिखार युवा क्लबका अध्यक्ष विवश फगामीले जानकारी दिए ।
फगामीका अनुसार, भवन भत्किँदा तिर्थयात्रीको लागि भवनभित्र रहेका लत्ताकपडा र भाँडाकुडाहरु समेत क्षति भएको छ । चट्याङले तिर्थयात्री भवन भत्किँदा युवा क्लबको खेलमैदान पुरिएको छ भने खेलमैदानको प्याराफिट समेत भत्काएको छ ।
नयाँ बर्षको अवसरमा क्लबले विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको अवस्थामा खेलमैदान, प्याराफिट र भवनमा क्षति पुगेसंगै मेला समेत प्रभावित हुने जोखिम बढेपछि स्थानीय युवाहरु चिन्तित बनेका छन् । चट्याङले क्लब भवन र जनसुन्दर आधारभुत विद्यालयको भवन समेत आंशिक क्षति पुगेको छ ।