बागलुङ, २४ चैत्र– जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ काहुलेका दश परिवारले सरकारले बनाएको नमुना बस्तीमा बास पाएपनि तरकारी रोप्ने जमिन नहुँदा समस्यामा परेका छन् ।
पुर्खौली घर भएको ठाउँमा घरसँगै गरीखाने सम्पत्ति पहिरोले बगाएको छ । ‘न खेती गरेर खाने जमिन छ, न पशु पाल्न गोठ’ धनमाया दर्जीले भनिन्, ‘तरकारी फलाउन सकिन्थ्यो तर, एक टुक्रा जमिन नहुँदा गुजारा चलाउन समस्या भयो ।’
घरको लालपुर्जा आफूसँग नहुँदा पीडा भएको स्थानीय सुनाउँछन् । ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने अधिकांश परिवारमा बिहान–बेलुका छाक टार्नै समस्या छ । ठूलो परिवार भएकालाई नमूना बस्तीमा बनेका घर पर्याप्त नभएको स्थानीय रुपा दर्जीले बताइन् ।
नमूना बस्तीमा खानेपानीको अभाव छ । बिहुँका अधिकांश गाउँमा मोटरबाटो पुगेपनि नमुना बस्तीमा अहिलेसम्म सडक नपुगेको उनको गुनासो छ । सरकारले आफूहरुका लागि खानेपानी र सडक निर्माण गरिदिए सहज हुने धनमायाको भनाई छ ।
गाउँपालिकाका अध्यक्ष राजु थापाले नमूना बस्तीमा रहेको खानेपानी समस्या समाधान गर्नका लागि गाउँपालिकाले योजना बनाएको बताए । थापाले बस्तीसम्म सडक पु¥याउने प्रयास पनि थालिएको जानकारी दिए ।
देशविदेशमा रहेका बिहुँ र बागलुङबासी तथा गाउँपालिकाको सहयोगमा जग्गा खरिद गरेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा घर निर्माणपछि नमूना बस्ती तयार भएको थियो । बस्ती तयार भएपनि आवश्यक संरचना भने अझै तयार भइसकेका छैनन् ।