म्याग्दी, २६ चैत्र– जिल्ला किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको छ । बेनी नगरपालिकाका छ ओटा वडालाई समेटेको बाख्राको व्यावसायिक उत्पादन केन्द्र कार्यक्रममा आबद्ध किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्ला बाख्रा ब्यवसायी संघमार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको छ ।
केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालका अनुसार, ६५ किसानलाई पालेको बाख्रा संख्याको आधारमा ७ सय ५० किलोग्राम सुदान, बजरा, टियोसेन्टी घाँसको बीउका साथै आइभरनाइट ट्याब्लेट, मिनिरल र बाह्य परजीवीविरुद्धको औषधि वितरण गरिएको हो ।
गण्डकी प्रदेशका पशुपन्छी तथा मत्य विकास निर्देशनालयका निर्देशक डा. मनबहादुर पुन, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले किसानलाई औषधि र घाँसको बीउ वितरण गरेका थिए ।
म्याग्दीलाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालन विस्तार, मासुको उत्पादन वृद्वि र बजारीकरणमा सघाउने उद्देश्यले ब्लक कार्यक्रम सुरु गरिएको थियो । ३९ किसान आबद्ध ब्लकमा यसवर्ष १० भन्दा बढी बाख्रा पालेका किसानलाई आबद्ध गराइएको छ ।