बागलुङ, २६ चैत्र– जिल्लामा एकैपटक ४ सयभन्दा बढी शिक्षकलाई नियुक्ती दिईएको छ । शिक्षा विकास तथा समन्वय इकाई बागलुङले प्राथमिक तहको शिक्षक परीक्षामा उत्तिर्ण भएका शिक्षकलाई नियुक्ती दिएर कार्यक्षेत्रमा पठाएको हो ।
नियुक्त पाएकामध्ये बडिगाड गाउँपालिकामा १ सय ८ जना शिक्षक छन् । लामो समयदेखि जिल्लामा ५ सय ३३ शिक्षक दरबन्दी खाली भएकोले शिक्षक पदपूर्ति गर्न दरबन्दीको तेरिजको आधारमा नियुक्ती गरिएको इकाई प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए ।
बागलुङमा लामो समयदेखि शिक्षक दरबन्दी खाली हुँदा निजीश्रोतका शिक्षक राखेर पढाइएको थियो । कतिपय बिद्यालयहरुमा गणित, अंग्रेजी र बिज्ञान शिक्षक खाली थिए । ‘महत्वपूर्ण बिषयका शिक्षक नहुँदा बिद्यार्थीको शैक्षिक गुणस्तरमा समस्या थियो’ उपाध्यायले भने, ‘अबको नियुक्तीले कम्तिमा गुणस्तर सुधार गर्न सहयोग मिल्नेछ ।’
यसअघि शैक्षिक योग्यता नभएका शिक्षकले समेत पढाउनु परेकोमा यो पटक उत्तिर्ण भएर आउने अधिकांसले स्नातक र स्नातकोत्तर तह उत्तिर्ण गरेर आएका छन् । उनीहरुबाट शिक्षा क्षेत्रमा सुधार ल्याउन र गुणस्तर सुधार गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ ।
सदरमुकाम बागलुङ बजारा सानो संख्यामा दरबन्दी खाली रहेको र अन्य पालिकामा धेरै शिक्षक आवस्यकता थियो । आवस्यकताको आधारमा दरबन्दीका शिक्षक पठाएपछि पालिकाले ती शिक्षकलाई पुनः नियुक्ती दिएर बिद्यालयमा पठाउने व्यवस्था गर्ने छन् ।
सबैभन्दा धेरै बडिगाड गाउँपालिकाका ६५ ओटा बिद्यालयमा शिक्षक दरबन्दी अभाव थियो । यसअघि निमावि र मावि तहको शिक्षक दरबन्दी पनि बितरण भैसकेको छ ।