बागलुङ, ३० चैत्र– बागलुङ नगरपालिकाले कर्मचारीहरुका लागि एक महिने सांकेतिक भाषा तालिम सुरु गरेको छ । नगरका कर्मचारी र बहिराहरु बीच सञ्चारको सहजताका लागि तालिम आयोजना गरिएको हो ।
तालिमको कार्यबहाक नगरप्रमुख राजु खड्काले उद्घाटन गरे । बहिराहरुका लागि कार्यालयबाट सहज सेवा प्रवाह गर्न तालिम सहयोगी बन्ने खड्काले बताए । ‘बाटोमा भेट्दा समेत नमस्कार गर्ने तर, सञ्चो बिसञ्चो सोध्न सञ्चारको समस्या हुने भएकाले तालिम आयोजना गरिएको हो’ खड्काले भने ‘सांकेतिक भाषाका आधारभुत बिषय मात्रै जानकारी हुँदा सेवा प्रवाह र सञ्चारमा सहजता आउँछ ।’
कर्मचारीका लागि सांकेतिक भाषा तालिमको आयोजना गरेर नगरपालिकाले बहिराहरुप्रति न्याय गरेको बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेलले बताए । उनले भाषा सिक्न कठिन नरहेको भन्दै एक महिनामा धेरै जानकारी हुने बताए ।
संघको समन्वयमा सञ्चालन हुने तालिममा हरेक दिन कार्यालय समय सकिएपछि कर्मचारीहरु सहभागी हुने छन् । सबै बिषयत शाखाका इच्छुक कर्मचारीलाई तालिममा सहभागिताका लागि अनुरोध गरिएको छ ।
तालिममा बहिरा संघका अध्यक्ष सन्तोष पौडेल र सचिव बासु थकालीले सहजीकरण गर्ने छन् । सांकेतिक भाषाका सामग्री, तालिमको पाठ्यक्रम, तालिम हल लगायतको व्यवस्थापन बागलुङ नगरपालिकाले गर्ने छ ।