म्याग्दी, ३ चैत्र– रघुगंगा गाउँपालिका वडा नं. १ बेग र बाँदुक गाउँलाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न ३ सय ६५ दशमलव ८० मिटर लामो पुल निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्रबार उद्घाटन गरिएको हो ।
बेग र बाँदुक जाने बाटोमा गाउँपालिका र अन्य निकायले पदमार्ग, पार्क र समुदायस्तरबाट चौतारी, विश्रामस्थल लगायतका पूर्वाधार निर्माण गरिरहेकाले निर्माण सम्पन्न भएको पाँच वर्षपछि उद्घाटन गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले जानकारी दिए ।
बेनी–जोमसोम सडकखण्डको तिप्ल्याङबाट बाँदुक–बेगहुँदै पर्यटकीयस्थल रुइसे जोड्ने पदमार्ग निर्माण गरी उक्त पदमार्ग धवलागिरि आइसफल पदमार्गमा जोड्ने योजना बनाइएको वडाध्यक्ष फगामीले बताए ।
बेग र बाँदुक गाउँहुँदै बग्ने बेगखोलाको खोचमाथि निर्माण भएको झोलुङ्गे पुल एक सय ४८ मिटरभन्दा बढी अग्लो छ । तत्कालीन जिल्ला विकास समितिले २ करोड ७९ लाख ९० हजार लागतमा पुल निर्माण गरिएको हो ।
२०७३ असार ३१ गतेदेखि निर्माण सुरु भएको पुल २०७४ चैत ३० गते निर्माण सम्पन्न भएको थियो । पुल निर्माण भएपछि बाँदुक र बेगगाउँसम्म आवागमन गर्न लाग्ने करिब तीन घन्टाको यात्रा ३० मिनेटमै छोटिएपछि स्थानीय खुशी छन् ।