पोखरा, ९ बैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त भएका हुन् ।
मुख्यमन्त्री अधिकारीले शनिबार आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो ।
विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना पदमा रहे ।
मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।