फाइल तस्बिर
म्याग्दी, १४ बैशाख– मंगला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण गरिएको छ ।
सडक डिभिजन कार्यालय बागलुङले मंगला–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका वडा नं. ४ फापरखेतबाट मंगला गाउँपालिका वडा नं. ३ पखेर जोड्ने पक्की मोटरेबल पुल निर्माण गरेको हो ।
पुल बनेपछि बेनी–दरवाङ सडकहुँदै ठूलो भूगोल र बस्ती भएका बरंजा र अर्मन सिधा सडक सञ्जालमा जोडिएका मंगला गाउँपालिकाका–३ का वडाध्यक्ष याम रोकाले बताए । यसअघि बरंजाका बासिन्दालाई म्याग्दी नदी पारि रहेको बाबियाचौर गाडी चढेर पुग्न बेनीबजार पुगेर ४० किलोमिटरभन्दा बढी घुमाउरो यात्रा गर्नुपर्ने समस्या थियो ।
पुलले मंगलाको वडा नं. ३ र ४ बरंजा तथा वडा नं. ५ अर्मनका दुई हजार पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । मंगला गाउँपालिका वडा नं. ५ अर्मनका वडाध्यक्ष भूपेन्द्र खत्रीले औपचारिक हस्तान्तरण हुन बाँकी भएपनि मोटरेबल पुलबाट यातायातका साधन आवतजावत गरेका बताए ।
सडक निर्माण भएपनि पुल नहुँदा स्थानीय यातायात सुविधाबाट बञ्चित थिए । तीन पिलर भएको माटेबगर–पोक ८० र चार पिलर भएको फापरखेत–पखेर जोड्ने पुल एक सय १७ मिटर लामो छन् । दुई पुल निर्माणका लागि २२ करोडमा ठेक्का सम्झौता भएको थियो ।