प्रतिकात्मक तस्बिर
म्याग्दी, १७ बैशाख– अन्नपूर्ण गाउँपालिका वडा नं. ७ घराम्दीमा गाउँपालिकाको सहयोग र चन्दा संकलन गरेर खेलमैदान निर्माण गरिएको छ ।
गाउँपालिकाको १४ लाख ३० हजार र समुदायस्तरबाट ३४ लाख ७७ हजार सहयोग जुटाएर भलिबल र बास्केटबल खेल संचालन गर्न मिल्ने व्यवस्थित खेलमैदान निर्माण गरिएको पेरी भारानी युवा क्लब घराम्दीका अध्यक्ष अमृत गर्बुजाले जानकारी दिए ।
‘खेतबारीमा खेलको अभ्यास गर्नुपर्ने समस्या हटाउन खेलमैदान बनाएका हौँ’ गर्बुजाले भने, ‘गाउँपालिकाले दिएको अनुदानभन्दा बढी चन्दा र श्रमदान जुटेको छ ।’ खेलमैदान निर्माण भएपछि भलिबल, बास्केटललगायत खेलको अभ्यास गर्न सहज भएको छ ।
घराम्दी घर भई हाल बेलायत बस्ने होमबहादुर फगामीले चार लाख ५० हजारमा खरिद गरी क्लबलाई उपलब्ध गराएको चार रोपनी जग्गामा खेलमैदान निर्माण गरिएको हो । खेलमैदान निर्माणका लागि फगामीले थप दुई लाखसहित स्वदेश तथा विदेशमा रहेका घराम्दीवासीले २७ लाख सहयोग गरेको गर्बुजाले बताए ।
गाउँका भूतपूर्व सैनिकले तीन लाख २७ हजार खर्चेर खेलमैदान परिसरमा सार्वजनिक शौचालय निर्माण गरेका छन् । गाउँपालिकाले प्यारापिट, घेराबार र मञ्च बनाउन १४ लाख ३० हजार सहयोग गरेको छ । अनुदान र चन्दाका अलावा एक सय परिवारको बसोबास रहेको घराम्दीका बासिन्दाले १०÷१० दिनभन्दा बढीका दरले श्रमदान पनि गरेका छन् ।
चालु आर्थिक वर्षमा गाउँपालिकाबाट मञ्च बनाउन ७ लाख ५० हजार बिनियोजन भएको वडाध्यक्ष मइलन पुर्जाले बताए । पुर्जाका अनुसार, खेलमैदान बनाउन यसअघि ६ लाख ८० हजार गरिएको थियो । ‘पालिकाको अनुदानभन्दा बढी चन्दा र श्रमदान जुटाएर घराम्दीवासीले जनसहभागिताको नमूना प्रस्तुत गरेका छन्’ वडाध्यक्ष पुर्जाले भने ।