बागलुङ, २२ बैशाख– आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६७ औँ बुद्ध जयन्तीमा भगवान् बुद्धप्रति आस्था प्रकट गरिँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमामा भएकाले यो दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा मनाउँछन् ।
नेपालको लुम्बिनीमा २५६६ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्ति भएपछि सिद्धार्थले भगवान् बुद्धका रूपमा प्रसिद्धि पाए ।
भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठवटा मार्ग छन् भनी बुद्धले ज्ञान दिएका छन् । यसलाई बुद्धले दिएका आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।