बागलुङ, २५ बैशाख– पटक पटक आग्रह गर्दा समेत कानूनी प्रकृया पुरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनको क्रममा दर्ताबिनै सञ्चालनमा रहेका पसलमा ताला लगाईएको हो ।
जैमिनीको कुश्मीशेरा बजारमा शनिबार अनुगमन गरिएको थियो । जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जैमिनीका जनप्रतिनिधि, कृषि शाखा, प्रहरी, पत्रकार र बजार व्यवस्थापन समितिको रोहवरमा शनिबार बजारको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा स्वास्थ्य उपचार जस्तो संवेदनशिल कार्यमा संलग्न क्लिनिक समेत बिना दर्ता निर्वाध सञ्चालनमा रहेको पाईएको थियो । ‘लामो समयदेखि सञ्चालनमा रहेको मेरो डेण्टल क्लिनिक दर्ता नभएको भेटियो, यसअघि पनि दर्ता गरेर सञ्चालन गर्न आग्रह गरिएको थियो’ बरालले भन्नुभयो ‘अटेरी गरेकाले क्लिनिकमा ताला लगाईदिएका छौं ।’
अनुगमन टोलीले अन्य केही कष्मेटिक पसलहरुमा समेत प्रशासनले ताला लगाएको छ । अनुगमनका क्रममा म्याद नाघेका खाद्यान्न भेटिएको, दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, केही पसलमा बिल, छाप नभएको, मूल्यसूचि नराखेको, एकै ठाँउमा फरक–फरक प्रकृतिका सामानको व्यवसाय गरेको पाईएको बरालले बताउनुभयो ।
पटक पटक अनुगमन गरी सुझाव दिँदा पनि अटेरी गरिएको भन्दै केही व्यवसायीलाई आइतबार जिल्ला प्रशासन कार्यलय बागलुङ बोलाईएको छ । अनुगमनको क्रममा थोरै समस्या रहेका पसललाई सुझाव दिईएको थियो भने कानुनी समस्या रहेका पसललाई बन्द गराई स्थानीय जनप्रतिनिधिलाई चावी हस्तान्तरण गरिएको छ ।