बागलुङ, २८ बैशाख– बागलुङ नगरपालिकाले आफ्नै पाठ्यक्रम बनाएर लागू गरेको एक बर्षपछि कक्षा १ को पाठ्यपुस्तक तयार गरेको छ । मंगलबार नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले पाठ्य पुस्तकको अन्तिम स्वरुप प्रस्तुतीकरण गरेर छिट्टै कक्षा १ मा लागू गर्ने जानकारी गराएको थियो ।
उक्त अबसरमा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले पाठ्य पुस्तकको प्रस्तुतीकरण गर्दै बालबालिकाले रमाएर पढ्न र सिक्न पाउने गरी सामाग्री बनाएको बताए । पाठ्य सामाग्रीमा रंगिन तस्बिर सहितको पाठ बनाइएको छ ।
पुस्तकमा बागलुङ नगरपालिकाको परिचय, वडा गत रुपमा परिचय र जानकारी, नगरपालिकाको पर्यटकीय क्षेत्र, धार्मिक तथा साँस्कृतिक क्षेत्र र यहाँ उत्पादन हुने बस्तुको जानकारी, बालबालिकालाई कृषि क्षेत्रबारे जानकारी गराइने सामाग्री छ । त्यसमा पशुपालन, कृषि तथा फलफूल उत्पादन र बागलुङको अबस्था, अन्य फलफूल, तरकारी लगायतको जानकारीमूलक सामाग्री समावेश गरिएको छ ।
कक्षा १ का बालबालिकाले पढ्ने भएकोले सरल र छोटा वाक्यमा सामाग्रीमार्फत बिषय चिनाउने प्रयास गरिएको छ । आगामी बर्ष कक्षा २ र ३ तथा क्रमशः कक्षा ८ सम्म लैजाने गरी पाठ्य पुस्तक बनाउन लागिएको हो ।
स्थानीय सरकार संचालन ऐन र संविधानले पनि स्थानीय सरकारलाई आफ्नो पाठ्यक्रम बनाएर लागू गर्न पाउने अधिकार दिएको छ । स्थानीय आबस्यकता अनुसारको पाठ्यक्रम र भाषागत रुपमा बोलिने स्थानमा अन्य भाषामापनि सामाग्री बनाएर लागू गर्न सकिने प्रावधान टेकेर नगरपालिकाले पाठ्यपुस्तक बनाएको हो ।