बागलुङ, ३० बैशाख– ट्राफिक सप्ताहको पाँचौ दिन शुक्रबार बागलुङमा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्दा निम्तिन सक्ने दुर्घटनाबारे चालकलाई प्रशिक्षण गरिएको छ ।
बागलुङ कालिका भगवती मन्दिर परिसरको घुम्तीमा आवतजावत गर्ने सवारी साधनलाई रोकेर सिट क्षमताबारे ट्राफिक प्रहरी प्रमुख मिनबहादुर खड्का र धौलागिरी यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिङ थापाले प्रशिक्षण दिएका हुन् ।
प्रशिक्षणपछि आयोजित कार्यक्रमा बोल्दै बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सिट क्षमताभन्दा बढि यात्रु राख्दा ज्यान जाने खतरा भएकाले यसबारे सचेत बन्नुपर्ने बताए । ट्राफिक नियमलाई सबैले पालना गर्नुपर्नेमा खड्को जोड थियो ।
कार्यक्रम बागलुङ कालिका भगवती व्यवस्थापन समितिका कोषाध्यक्ष रमेश खड्काको अध्यक्षता र जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख मिनबहादुर खड्काको संचालनमा सम्पन्न भएको थियो ।
यसैबिच शुक्रबार बिहान चालकका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको ट्राफिक प्रहरीले दिउँसो बिभिन्न बिद्यालयका बिद्यार्थीलाई ट्राफिक नियमबारे प्रशिक्षण चलाएको थियो ।