बागलुङ, ३१ बैशाख– बागलुङ नगरपालिका वडा नं. १४ को नारायणस्थानमा रहेका बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । बिपन्न परिवारका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान र असक्तलाई निशुल्क औषधिका लागि रकम सहयोग गरिएको छ ।
अमेरिकामा बस्दै आएका नारायणस्थानका गंगाबहादुर घर्ती र उनकी पत्नि डम्बर कुमारी घर्तीको सहयोगमा उनीहरुलाई सहयोग बितरण, छात्रवृत्ति प्रदान तथा कृषि पेशा गर्नेलाई बाख्रा र प्लाष्टिक टनेल समेत प्रदान गरिएको छ ।
जिसी परिवारको तर्फबाट संयोजन गरेका स्थानीय समाजसेवी कमलकुमार जिसीका अनुसार शुक्रबार नारायणस्थनका ३० जना बिपन्न परिवारलाई एक÷एक बोरा चामल, दुइ लीटर तेल, नुन, चिनी, साबुन र दाल लगायतका सामाग्री सहयोग गरिएको हो । यसरी सहयोग गर्दा प्रतिपरिवार ३ हजार ६ सय रुपैयाँको सामाग्री प्रदान गरिएको जिसीले बताए ।
त्यस्तै बिभिन्न रोग लागेर उपचार गरिरहेका १० जनालाई १० हजारको दरले नगद सहयोग गरिएको छ । ६ परिवारलाई बाख्रा पालनका लागि १० हजार रुपैयाँको दरले सहयोग गरेपछि केहीले बाख्रा किनिसकेका छन् भने केहीले नगद लगेर किन्ने तयारी गरेका छन् । ११ जना बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गरिएको छ । प्रतिबिद्यार्थी ८ हजार रुपैयाँ दिइएको ‘गंगाबहादुर घर्ती, डम्बरकुमारी घर्ती कल्याणकारी कोष’का सचिव सोबेन्द्र खत्रीले बताए ।
त्यस्तै १ जनालाई काजक्रिया गर्न ७ हजार र १ जना किसानलाई प्लाष्टिक टनेल निर्माण गर्न ८ हजार रुपैयाँ नगदै सहयोग गरिएको थियो । जिसी परिवारले १ करोड रुपैयाँ लगानी गरेर कोष बनाएका छन् । उक्त कोषबाट आउने व्याजबाट जिसी परिवारले नारायणस्थनका बिपन्न परिवारलाई खाद्यान्न, छात्रवृत्ति, कृषि तथा पशुपलन व्यवसायमा सहयोग गर्ने बताइएको छ ।
हरेक बर्ष वडाको सिफारिसमा बिपन्न परिवार छनौट गरेर सामाग्री सहयोग गर्ने बताइएको छ । वडा अध्यक्षको संयोजकत्वमा वडाका सदस्यहरु, परिवार र आफन्तको तर्फबाट सोबेन्द्र खत्री सचिव र बिष्णु खड्का कोषाध्यक्ष रहेको समिति गठन भएको छ । कोषको तर्फबाट गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले सामाग्री तथा नगद सहयोग हस्तान्तरण गरेका थिए ।