बागलुङ, २ जेठ– बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक दावगह्रा बसपार्क सञ्चालनका लागि पहल सुरु भएको छ । प्राबिधिक र कानूनी समस्याका कारण सञ्चालनमा आउन नसकेको बसपार्क सञ्चालनका लागि नगरपालिकाले पहल थालेको हो ।
बसपार्क निर्माणका लागि निशुल्क जग्गा उपलव्ध गराएका जग्गादातालाई बाँकी जग्गा फिर्ताको काम बाँकी छ । बसपार्कमा अपुग संरचना निर्माणको काम र बसपार्क सञ्चालनका लागि सरोकारवालासँग छलफलको कामलाई तत्काल अघि बढाउन नगरपालिका तयार भएको हो । सोमबार सरोकारवाला, जग्गादाता तथा सर्वसाधारणबीच सार्वजनिक सुनुवाई गरेर तत्काल बसपार्क सञ्चालनमा ल्याउन काम थाल्ने निकर्षमा पुगेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
‘जग्गातादाहरुले एकिकृत गरेर दिएको जग्गामा बसपार्क बनेको छ, बाँकी जग्गा फिर्ता गर्नुपर्ने छ, त्यही जग्गामा निर्मित संरचना र फालिएको माटोका बिषयमा अख्तियारमा मुद्धा छ’ नगरप्रमुख श्रेष्ठले भने ‘फिर्ता गर्नुपर्ने जग्गाको माटो व्यवस्थापनबारे अख्तियारको पत्र प्राप्त भएको छ, जनसमुदायले काम सुरु गर्नुस् भनेपछि अब काम थाल्छौं ।’
एकिकृत गरिएको झण्डै ६० रोपनी जग्गामध्ये १७.८ रोपनी जग्गामा बसपार्क बनेको छभने बाँकी जग्गा कित्ताकाट गरेर दातालाई फिर्ता गर्ने सहमति छ । बाँकी रहेको जग्गामा फ्याकिएको माटो व्यवस्थापनका बिषयमा बिबाद थियो । बसपार्क निर्माण कम्पनी ‘आशिष फेवा जेभी’ले तीन सय मिटर टाढा फ्याक्नुपर्ने माटो बाँकी रहेको जग्गामा फ्याकेको र त्यही माटो पन्छाउनका लागि अर्को ठेक्का लागेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
माटो मन्छाउने जिम्मेबारी पाएको तिलक निर्माण सेवालाई काममा रोक लगाईएपछि जग्गाको कित्ताकाट लगायतका काम रोकिएका थिए । ‘तिलक निर्माण सेवालाई काम गर्ने वातावरण हामीले बनाउँछौं, ‘आशिष फेवा जेभी’ले तोकिएको माटो बाहिर फालेको हो होईन प्राबिधिक हिसाबमा खोजी गरेर बाँकी रकम भुक्तानी गर्छौं’ नगरप्रमुख श्रेष्ठले प्रतिबद्धता जनाउँदै भने ‘माटो व्यवस्थापनपछि कम्तिमा जग्गाको कित्ताकाट गरेर दातालाई फिर्ता गर्ने र बाँकी संरचना बनाउने काम शुरु हुने छ ।’
जग्गा व्यवस्थापन समितिका सचिव ध्रुवबहादुर केसीले बाँकी जग्गाको कित्ताकाट गर्ने काम चुनौतीपूर्ण रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले नगरपालिकाले जग्गादातासँग भएको सहमति अनुसारका संरचना बाँकी जग्गामा बनाउनुपर्ने बताए ।
सार्वजनिक सुनुवाईमा गण्डकी धौलागिरी आयायात सेवा प्रा.लि.का अध्यक्ष उमेश केसीले बसपार्क यात्रु र प्रबिधिमैत्री हुनुपर्ने बताएका थिए । जग्गातादाहरु सुवास केसी, हरिबहादुर कार्की लगायतले बाँकी जग्गाको कित्ताकाट र त्यहाँ बन्ने संरचनाका बिषयमा सवाल उठाएका थिए ।
सार्वजनिक सुनुवाईमा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले समस्याभन्दा पनि होहल्ला बढी भएकाले बसपार्क सञ्चालनमा नआएको भन्दै बसपार्क सञ्चालनका लागि सबै जिम्मेबार बन्नुपर्ने बताए । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रशासनिक हिसाबले बसपार्क सञ्चालनका लागि सहयोग गर्न तयार रहेको बताए ।
नगरप्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता, उपप्रमुख राजु खड्काको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार तारानाथ आचार्यले गरेका थिए ।