फाइल तस्बिर
बागलुङ, ६ जेठ– नेपालमा मनसुनको समय शुरु हुनै लागेको छ । नियमित जसो बर्षातको क्रम शुरु भैसकेको छ । मनसुनको समयमा खोला र नदीमा आउने बाढी र पहिरोले समाजमा निम्तने बिपत न्युनिकरणका लागि सशष्त्र प्रहरीबल नेपाल आश्रित गुल्म बागलुङले कालीगण्डकी नदीमा बिपत प्रतिकार्य घटना अभ्यास शुक्रवार सम्पन्न गरेको छ ।
गुल्मको संयोजनामा मालढुंगा नजिक कालीगण्डकी नदी किनारमा नदीमा डुवेका व्यक्तिको खोजी तथा उद्दार र राहत कसरी गर्ने भन्ने घटनाको अभ्यास गराएको हो । नदी तटीय क्षेत्रमा बस्ने बासिन्दा बिपतबाट बढी पीडित हुने भएकोले घटनाको अभ्यासमा उनीहरुलाई समेत सहभागि गराउने गरी कार्यक्रम गरिएको थियो ।
नेपाल सरकराले बाढी पहिरो सहितको बिपतको जोखिम जिल्लामा सूचिकृत छ । जिल्ला प्रशासन कार्यालय बागलुङको तथ्यांकमा अघिल्लो बर्ष ६ सय ३२ जना नागरिक बाढी तथा पहिरोले पीडित बनेका थिए । उनीहरुको संख्यालाई कम्तिमा न्युनिकरण गर्न सकेमा पनि घटना अभ्यासको औचित्य पुष्टी हुने गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णकुमार श्रेष्ठले बताए ।
घटना अभ्यासका लागि सशष्त्र प्रहरीले अघिल्लो दिनदेखिनै तालिम प्राप्त जवान र अधिकृतहरुलाई फिल्डमा खटाएको थियो । बर्षातमा हुने जुनसुकै जोखिम न्युनिकरणका लागि यस्ता टोली खटिने श्रेष्ठले जानकारी दिए ।
नमूना अभ्यासले बाढी र डुवानमा परेका व्यक्तिको उद्दार र उनीहरुलाई तत्कालको राहत उपलब्ध गराउन सहयोग पुग्ने बताइएको छ । यस्ता प्रकारका अभ्यासले आगामी दिनमा जोखिम न्युनिकरणमा कमी गर्ने र पीडितको संख्या घटाउने, मानवीय क्षति न्युनिकरण गर्ने जस्ता काममा सफलता पाइने प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन् ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आम नागरिकको सुरक्षामा नेपाल प्रहरी, सशष्त्र प्रहरी र नेपाली सेनाले जोखिम मोलेर काम गरेको बताए ।