तस्बिर : काठेखोला गाउँपालिका वडा नं. ३ को कार्यालय
बागलुङ, ६ जेठ– बरेङ गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालनमा ल्याएको छ । बागलुङ जिल्लामा चालु आर्थिक बर्षमा सुरु भएको यो दोस्रो लोक सेवा तयारी कक्षा हो । यसअघी काठेखोला गाउँपालिका–३ धम्जाले डेढ महिने लोक सेवा तयारी कक्षा चलाईरहेको छ ।
बागलुङमा पछिल्लो समय स्थानीय तहले लोक सेवा तयारी कक्षालाई प्राथमिकतामा राखेर सञ्चालन गरिरहेका छन् । पालिकाका महिला, दलित, आदिवासी जनजाती, अपाङ्गता भएका व्यक्ति र आर्थिक तथा सामाजिक रुपमा पिछाडीएको वर्गलाई विशेष प्राथमिकतामा राखी तयारी कक्षा सञ्चालन गरिएको हो ।
‘हामिले पालिकाबाट बर्षमा कम्तीमा एक÷दुई जनलाई लोक सेवामा उत्र्तिण गराउन सके पनि त्यो हाम्रो ठुलो उपलव्धी हुन्छ’ बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ‘लोक सेवा तयारी कक्षाले शिक्षा सेवा आयोगका लागि समेत सहयोग गर्छ, सम्भावनाहरुको ढोका खोल्छ ।’ कम लगानीमा धेरै र महत्वपूर्ण उपलव्धी हाँसिल गर्नका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको उनले बताए ।
पछि परेको समुदायका विद्यार्थीलाई आर्थिक भारबिनै लोक सेवाको तयारीमा सहयोग गर्नका लागि कार्यक्रम बनाईएको शर्मा बताउँछन् । गाउँपालिका भरीबाट १३ जना विद्यार्थी तयारी कक्षामा सहभागि भएका छन् । गाउँपालिकाले चालु आर्थिक बर्षको बजेट कार्यक्रम तयार गर्दा नै लोक सेवा तयारी कक्षालाई प्राथमिकतामा राखेको थियो ।
काठेखोला गाउँपालिका–३ धम्जाले पनि चालु आर्थिक बर्षमा लोक सेवा तयारी कक्षाका लागि मात्रै दुई लाख रुपैयाँ बिनियोजन गरेको थियो । ‘झट्ट हेर्दा बिकास नदेखिने तर दिर्घकालिन सामाजिक बिकासको पाटो हो यो’ वडा अध्यक्ष कुलबहादुर बिकले भने ‘पछि परेको समुदायमा महंगो मुल्य तिरेर लोकसेवा तयारी गर्न नसकेको युवापुस्ता छ, उनीहरुका लागि पनि त हामीले केही त गर्नु नै पर्छ ।’
सडक र भवनलाई मात्रै बिकास मान्ने परिपाटीबाट समुदायलाई माथी उठाउनका लागि पनि लोक सेवा तयारी कक्षा आवश्यक रहेको उनले बताए । स्थानीय तहहरुले नीजि क्षेत्र र सरकारी क्षेत्र दुवैमा योग्य जनशक्ति तयार गरेर प्रतिस्पर्धा गराउने दायित्व रहेको बिकको बुझाई छ ।