म्याग्दी, १४ जेठ– रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोलाहुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् ।
२ हजार आठ सय ८३ मिटर उचाइको हुमखोलादेखि तीन हजार पाँच सय ५३ मिटर उचाइमा रहेको भुसकेटमेला पुग्ने अन्नपूर्ण खोला वारिपारिका पाखामा वसन्त ऋतुमा ढकमक्क फुलेको गुराँसले पर्यटक लोभ्याएको हो ।
नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले अन्नपूर्ण हिमाल आरोहण, पच्चकुण्ड नारच्याङ ताल र मौसिज हर्गोज पदमार्ग भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘फुच्चे गुराँस’ थप आकर्षण बनेको बताए ।
‘मौरिस हर्गोज पदमार्ग आरोहण र पदयात्राका लागि मात्र नभएर नेपालमा मात्र पाइने गुराँसको अवलोकन गर्न सकिन्छ’ फगामीले भने, ‘झाडीधार वनस्पतिमा पर्ने यो प्रजातिको गुराँस लाङ्टाङ र गोसाइँकुण्ड क्षेत्रमा पाइने अभिलेख भएको छ । अन्नपूर्ण क्षेत्रमा पनि पाइने अभिलेख गराउन पहल गरेका छौं ।’
आधा मिटरदेखि तीन मिटरसम्मको उचाइ हुने यो गुराँस फुलेको बेला पातसँगै निस्कने वनस्पतिविद् कमल मादेनले बताए । मादेनका अनुसार लाङ्टाङ क्षेत्रमा यो गुराँसलाई किसुर भनेर पनि चिनिन्छ ।
‘अप्रिलदेखि जुन महिनामा फुल्ने यो गुराँस गुलाबी हुन्छ । रोडोडेन्ड्रन कोवानियनमको पातमा रौँजस्ता ससाना भाग देखिन्छन्’, उनले भने, ‘रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । नेपालबाहेक संसारका अन्य स्थानमा रेकर्ड भएका छैनन् ।’