बागलुङ, १९ जेठ– आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा रहेको बागलुङको बरेङ गाउँपालिकाले सर्वसाधारणबाट सुझाव माग गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना गर्दै नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बिषयमा सुझाव मागेको हो ।
स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए बमोजिमको सात चरण पुरा गरेर गाउँपालिका नीति तथा कार्यक्रम र बजेटको तयारीमा छ । बस्ती स्तरमा पुगेको गाउँपालिकाले छुटेका बिषय समेत समावेश गर्न सार्वजनिक सूचना गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । टोल–टोलमा गाउँपालिकाबाट सम्बोधन गर्नुपर्ने बिषय भएमा इमेल, पत्राचार वा फोनमार्फत सुझाव उपलव्ध गराउन आग्रह गरिएको छ ।
बागलुङमा यो नौलो प्रयास हो । गाउँपालिकाले तयार गर्ने नीति तथा कार्यक्रम र बजेटमा सबै नागरिकको सहभागिता गराउनका लागि सार्वजनिक रुपमा सुझाव मागिएको अध्यक्ष शर्माको दाबी छ । ‘कहिँकतै कानूनी रुपमा अनिवार्य भनिएको छैन्, ऐनमा तोकिएका सात चरण वडाको सक्रियतामा हामीले पुरा गरेका छौं’ शर्माले भने ‘पालिकाबासी सबैको अपनत्व गराउनकै लागि हामीले सार्वजनिक सूचना गरेका हौं ।’
सार्वजनिक रुपमा सुझाव माग्दा छुटेका बिषय समावेश गर्न सहज हुने, सबै नागरिकले बजेट र कार्यक्रममा आफ्नोपन महसुस गर्ने अध्यक्ष शर्माको धारणा छ । ‘जनप्रतिधिको माध्यामबाट मात्रै होईन, सर्वसाधारण आँफैले पनि नीति तथा कार्यक्रम र बजेटमा आफ्नो सहभागिता जनाउन सक्छन्’ उनले भने ‘तर्कसंगत र आवश्यक सुझावलाई गाउँपालिकाले समाबेश गर्छ ।’ आगामी असार १० गते अघिनै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा गाउँपालिका छ ।