बागलुङ, २१ जेठ– प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले श्रमजीवि पत्रकार ऐनले व्यवस्था गरेअनुसारको पारिश्रमिक विना सर्त उपलव्ध गराउन माग गरेको छ । बिभिन्न सञ्चार प्रतिष्ठानहरुमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीले अहिले पनि ऐनले व्यवस्था गरेअनुसार पारिश्रमिक नियमित नपाएको भन्दै चौतारीले पारिश्रमिक उपलव्ध गराउने वातावरण सिर्जना गर्न सञ्चार प्रतिष्ठानसँग माग गरेको हो ।
प्रेस चौतारी बागलुङको १९ औं साधारणसभा तथा ७ औं जिल्ला अधिबेशनबाट ७ बुँदे बागलुङ घोषणा पत्र जारी गर्दै चौतारीले सामाजिक सञ्जाल युट्युवहरुमा आउने भ्रमपूर्ण समाचारबाट विचलित नभई आधिकारीक दस्तावेज अध्ययन गरी सम्प्रेषण भएका समाचार प्रकाशन प्रशारण गर्न आग्रह गरेको छ ।
नेपाल पत्रकार महासंघको सदस्य शुद्धीकरण अभियानमा चौतारीले नेतृत्वदायी भूमिका खेल्ने घोषणा पत्रमा उल्लेख छ । युवापिंढीलाई प्रेस चौतारीमा आवद्ध गरी पत्रकारितामा आकर्षित गर्ने र प्रशिक्षण, पुर्नताजगीकरण कार्यक्रम संचालन गर्ने उल्लेख छ । घोषणा पत्रमा वर्तमान सरकारको काम, कारवाही निर्णय शैलीका बारेमा खबरदारी गरी नागरिकहरुलाई सूसुचित गर्ने उल्लेख छ । संघ, प्रदेश र स्थानीय सरकारबाट नागरिकका लागि प्रदान गरिने सेवा सुविधामा पारदर्शिता र शुशासनमुखी खबरदारी गरिने घोषणा पत्रमा उल्लेख छ ।