बागलुङ, २४ जेठ– इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले लाखौं रकम ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
मंगलबार प्रहरीमा पुगेर पीडितहरुले आँफूसँग भएका कागजात र रकमको जानकारी समेत गराएर ठगी गर्नेलाई कारवाही माग गरेका छन् । गत बैशाख ६ गतेको संचालक समितिको बैठकको निर्णय भन्दै तरलता अभाव देखाएर सूचना टाँस गर्दै कार्यालय बन्द गरेपछि सहकारीको बेथीती छताछुल्ल भएको थियो ।
त्यसपछि पटक पटक सहकारी अभियान्ताले बैठक बसेर इमेजको रकम सुरक्षित गर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेका थिए । हाल सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली फरार छन् । उनी भागेपछि करोडौं रकम हिनामिना भएको ठहर भैसकेको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको प्रारम्भिक अध्ययनमा पनि नेपाली भागेपछि पोखरा, बागलुङ र बुर्तिवाङ समेतमा बचतकर्ताको बचतमा रहेको १ अर्ब ४५ करोड बढी रकम हिनामिना भएको ठहर गरेको थियो ।

रजिष्ट्रारको कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइवीमा नेपालीबिरुद्ध मुद्दाको तयारी गरेको अधिकारीहरुले बताए । यसै क्रममा बचतकर्ताले आफ्नो खातामा रहेको रकम, सो को पास बुक र बिभिन्न समयमा पाएको रसिद तथा प्रमाणपत्र लिएर मंगलवार जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।
बचतकर्ताको गुनासो सुन्दै प्रहरीका अधिकारीहरुले आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताएका थिए । ‘यो बिषय केन्द्रसम्मै पुगेको छ, हामीले पनि सक्ने सहयोग गर्छौ’ प्रहरी नायव उपरिक्षक मदन केसीले भने, ‘सहकारीका संचालकको खोजी गरेर उनीहरुलाई समेत राखेर छलफल गर्दा सही निष्कर्ष निस्केला ।’
साधारण नागरिकको रकम जम्मा गरेर अलपत्र पार्नेलाई कारवाही गर्नैपर्ने सहकारी अगुवा बाबुराज कार्कीले बताए । ‘जनताले खाइ नआइ लाखौं रकम जम्मा गरेका छन्, रकम खाएर भाग्नेलाई राजनीतिक दल र राज्यका कुनैपनि निकायले संरक्षण गर्न मिल्दैन’ कार्कीले भने, ‘भ्रष्टाचार र अनियमितता गर्ने जो कोही भएपनि जोगाउने काम नगरौं ।’