बागलुङ, २५ जेठ– स्वर्गिय हेमराज शर्मा पौडेलको सातौं स्मृति दिवशमा समाजसेवीलाई सम्मान र बिद्यार्थीलाई छात्रवृत्ति दिइएको छ ।
हेमराज शर्मा पौडेल प्रतिष्ठानमार्फत मंगलबार बागलुङ नगरपालिका १३ पैयुँपाटामा आयोजित कार्यक्रममा समाजसेवी एवं राजनीतिक व्यक्तित्व हरिप्रसाद श्रेष्ठलाई सम्मान गरेको हो । नेपाली काँग्रेस बागलुङ पुर्व सभापति समेत रहेका श्रेष्ठ राजनीतिसँगै शिक्षा र सामाजिक क्षेत्रमा स्वर्गिय पौडेलसँगै सहयात्रा गरेका थिए ।
कार्यक्रममा बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसका अध्यक्ष चूडामणि शर्मा पौडेल, पूर्व अध्यक्षहरू अमरबहादुर खत्री र प्रकाश पौडेल, कृष्ण गण्डकी क्याम्पसका अध्यक्ष कमलकुमार जिसी र पूर्व अध्यक्ष कृष्णबहादुर खत्री, शान्तिदीप बहुमुखी क्याम्पसका अध्यक्ष चित्रप्रसाद चापागाईं, पूर्व अध्यक्षहरू काशीराम आचार्य र हरिप्रसाद शर्मा एवं लक्ष्मीनारायण संस्कृत पाठशालाका पूर्व शिक्षक पण्डित पुरुषोत्तम उपाध्यायलाई सम्मान गरिएको थियो ।
प्रतिष्ठानले धौलागिरि बहमुखी क्याम्पसको स्नातक तहमा (२०७९ मा) सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने अञ्जना रिजाल, बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण हुने गीता कुँवर, त्रिभुवन माविमा अध्ययनरत विद्यार्थी कपिल शर्मा र दीक्षा रेग्मी जनमत माविका उज्ज्वल रिजाल र अनिशा रिजाललाई नगदसहित सम्मान गरिएको हो ।
कार्यक्रममा हेमराज शर्माको जीवनीमा आधारित बृत्तचित्र समे प्रर्दशन गरिएको प्रतिष्ठान बागलुङका अध्यक्ष किरणराज पौडेलले जानकारी दिए । सम्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्व. हेमराज शर्मा पौडेलले गरेको योगदानको सबैले अनुसरण गर्दै जानुपर्ने बताए । उनले पहिले संचार यातायात नहुँदा स्व. पौडेलले गरेको कार्य समाजका लागि विकासको माध्ययम बनेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र सम्मानित व्यक्ति हरिप्रसाद श्रेष्ठले समाजको लागि स्व. पौडेलले गरेको योगदानको प्रशंसा जति गरेपनि नपुग्ने हुँदा उहाँले देखाएको बाटोलाई सबैले अबम्वलन गर्दै जानुपर्ने बताए । स्वं पौडेलको जीवनी र व्यत्तित्वबारे प्रतिष्ठानका अध्यक्ष किरणराज पौडेलले प्रष्ट पारेका थिए । कार्यक्रम बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसका प्रमुख ज्ञानेन्द्रराज पन्तले संचालन गरेका थिए ।