बागलुङ, २७ जेठ– १५ गते आएको नेपाल सरकारको बजेट भाषणमा दुग्ध विकास बोर्ड खारेज गरिएको प्रति बागलुङ दुग्ध उत्पादक सहकारी संघले बिरोध गरेको छ ।
संघले पत्रकार सम्मेलन गरेर बोर्ड खारेज गर्दा किसानलाई मार परेको जानकारी गराइयो । दूधको उत्पादन अनुपात, बजार बिस्तार र बिक्रीका लागि साथ दिने बोर्ड खारेजीमा पर्नु किसानका लागि नराम्रो भएको संघका अध्यक्ष दिपक गौतमले बताए । उनले सरकारले खर्च घटाउने निहुँमा किसानमारा नीति लिएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा उनले अन्य संस्था खारेज गरेपनि दुग्ध बिकास बोर्ड व्युताउनुपर्ने माग गरेका थिए । बोर्डले दूधको मूल्य समायोजनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै भारतबाट दूध आयात गर्न सरकारले बोर्ड खारेज गरेको आरोप लगाएका थिए ।
पत्रकारको जिज्ञाशामा उनले बोर्ड निस्कृय जस्तो देखिएपनि किसानको उत्पादनसँग जोडिएको संस्था भएकोले खारेज गर्न उपयोगी नभएको दाबी गरे । साथै, उनले खर्च घटाउनका लागि अन्य संस्थानहरु खारेज गरेर भएपनि बोर्ड जिवित राख्नुपर्ने माग गरेका थिए ।