बागलुङ, २९ जेठ– बागलुङ नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सरोकारवालाले सुझाएका छन् ।
बागलुङ नगरपालिकाको आर्थिक विकास समितिको क्षेत्राधिकारभित्र पर्ने सरोकारवालाको भेला तथा सुझाव संकलन कार्यक्रममा सहभागीले कृषि क्षेत्रको तथ्यांक संकलन, उत्पादन, बजारीकरण जस्ता क्षेत्रमा लगानी बढाउन सकेमा आर्थिक संकट टार्न सकिने सुझाएका हुन् ।
पछिल्लो समय बढेको आर्थिक संकटको बेला बाहिरी क्षेत्रबाट किनेर कृषि उपभोग गर्नुभन्दा आफ्नै उत्पादन बढाउन सक्दा अर्थतन्त्रमा पनि सुधार हुने, कृषि फसल, दूध, माछामासु र अण्डामा आत्मनिर्भर बन्न सकिने उनीहरुको सुझाव थियो ।
बित्तीय क्षेत्रले पनि कृषि उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने, सुविधा सम्पन्न क्षेत्र मात्र हेरेर नभई किसानको बारी, मेहेनत र उनीहरुको उत्पादनको बजारीकरणमा लगानी गर्न सक्नुपर्ने बताएका हुन् । बैंक तथा बित्तिय क्षेत्रका प्रतिनिधिले केन्द्रीय नीति अनुसार काम गर्नुपर्ने भएकोले अप्ठ्यारो परेको भन्दै राजनीतिक क्षेत्रबाट बित्तिय संस्थाको केन्द्रीय नीतिमा पनि पहल गर्नुपर्ने सुझाएका थिए ।
कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले कृषि, पशुपालन, सहकारी र अन्य आर्थिक क्षेत्रलाई सुधार गर्ने र आफ्नै नगरभित्रको उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष राखेको बताए । उनले त्यसका लागि सबैको चासो समेत चाहिएको बताएका थिए । उनले नगरपालिकाको काममा सबैको लगानी र साथ भएमा केही सुधार गरेर देखाउन सकिने पनि बताए ।
समितिका अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता, सचिव प्रेम शर्माको संचालन र सदस्य रुद्रबहादुर केसीको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापा, राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य चण्डीप्रसाद शर्मा, कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सुजित पौडेल, भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटा, बित्तीय क्षेत्रका प्रतिनिधि र बैंकर्स एसोसिएसनका सदस्यहरुले पनि नगरको नीति र कार्यक्रममा आर्थिक क्षेत्र बलियो बन्ने गरी ल्याउन सुझाएका थिए ।
कार्यक्रममा गरिएको प्रस्तुतीमा नगरपालिकाले चालु बर्ष ४ करोड १० लाख राजश्व संकलन गरेको समेत बताइयो । पछिल्लो समय आएको पशु रोगले निम्तेको खतरा नियन्त्रणमा सबैको साथ चाहिने भन्दै उत्पादनमा आधारिक अनुदान नीति बनाउन पनि सुझाव दिएका थिए । पछिल्लो समय सहकारी क्षेत्रमा आएको समस्या पनि चर्चा गरिएको थियो । बागलुङमा १ सय ४४ वटा सहकारी हस्तान्तरण भएकोमा १० वटा नयाँ दर्ता र २१ वटा मर्ज भएको तथ्यांक पनि प्रस्तुत गरिएको थियो ।