बागलुङ, ३ असार– बर्षात लागेसँगै नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले बिपत व्यवस्थापन तथा मानव स्वास्थ्यको सुधारका लागि गतिविधि शुरु गरेको छ ।
ग्रामीण क्षेत्रमा रहेका रेडक्रसका स्वयंसेवकहरुका लागि बिपत व्यवस्थापन सम्बन्धी तालिम संचालन भएको शाखा सभापति जगन्नाथ आचार्यले बताए । उनले काठेखोला, ताराखोला लगायतका बिपतको जोखिम मानिएका गाउँपालिकामा रहेका स्वयंसेवकलाई बिपत व्यवस्थापनमा परिचालन गर्ने सम्बन्धी तालिमहरु संचालन भएको बताए ।
‘बिपत आइपर्दा कसरी काम गर्ने, कसरी आँफू पनि जोगिने र कसरी तथ्यांक संकलन गर्ने लगायतको तालिम दिइएको हो’ आचार्यले भने, ‘जोखिममा खोजी तथा उद्दार गर्ने र राज्यका संयन्त्रमा जोडिने बिषयमा पनि स्वयंसेवकहरुलाई जानकार गराइएको छ ।’
हरेक बर्ष फेरिने बिपतका प्रकार र उद्दारका औजार बारे पनि उनीहरुलाई जानकारी गराउनु पर्ने बताए । तालिममा २४ जना स्वयंसेवक बिपत व्यवस्थपनकालागि योग्य बनाइएको छ ।
त्यस्तै रेडक्रसले स्वास्थ्य क्षेत्रमा पनि सकार्यको काम थालेको छ । काठेखोला र ताराखोलाकै वर्थिङ सेन्टरमा रेडक्रसले सुत्केरी सामाग्री र आवस्यक उपकरण समेत सयोग गरेको छ । पहिलो चरणमा काठेखोलाका ७ वटा सेन्टरमा सामाग्री बितरण गरिएको हो भने ताराखोलामा सोमबार बितरण गरिने आचार्यले जानकारी दिए ।
यसैबीच रेडक्रसले ताराखोलामा आँखा शिविर, परिवार नियोजन सेवा र जनरल स्वास्थ्य सेवा समेत प्रवाह गरेको छ । शुक्रबार र शनिवार भएको शिविरमा २ सय ८८ जनाको स्वास्थ्य उपचार भएको थियो ।
नेपाल रेडक्रस सोसाइटीले संचालन गरेको समुदायमा आधारित वृहत स्वास्थ्य परियोजनाअन्र्तगत धौलागिरि आँखा अस्पतालका चिकित्सक, नेपाल परिवार नियोजन संघ बागलुङकी आस्था जिसी, धौलागिरि अस्पतालकी स्त्रीरोग बिशेषज्ञ डा. शोभा पौडेल सतिको टोलीले शिविरमा उपचार गराएका थिए ।