बागलुङ, १६ असार– बागलुङ नगरपालिका–६ को लमगाउँमा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को ४६ लाख, बागलुङ नगरपालिकाको १२ लाख, स्थानीयको नगद संकलन ४ लाख ५१ हजार र स्थानीय श्रमदानबाट ९ लाख ५६ हजार गरी ७२ लाख ३५ हजार रुपैयाँको लागतमा आयोजना निर्माण भएको हो ।
१ सय ४४ घरधुरी, १ बिद्यालय, १ सुधारकेन्द्र र १ मन्दिरका लागि एक घर एक धारा परियोजनाअन्र्तगत निर्माण भएको आयोजना बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गरे । पानी मानव सभ्यता र जीवनसँग जोडिएको बिषय भएकोले पहिलो प्राथमिकता खानेपानीका लागि दिने गरेको श्रेष्ठले बताए ।
पाइपलाइनबाट ल्याउने पद्दती लामो र बढी खर्चिलो भएपछि स्थानीयले जग्गा र मुल दिएपछि लिफ्ट प्रविधिको आयोजना निर्माण गरिएको हो । यो प्रविधिकालागि नेवाले नगरपालिकासँग सहकार्य गरेको थियो ।
कार्यक्रममा जग्गादाता एकिन्द्र थापा, शोभादेवी थापा, लालबहादुर थापा, दिपा थापा, जगन्नाथ आचार्य, गणेश थापा, कर्णबहादुर किसान, सोमबहादुर किसान, राजकुमारी थापा र खडानन्द रिजाल लगायतलाई सम्मान गरिएको थियो ।