बागलुङ, १७ असार– ढोरपाटन शिकार आरक्ष कार्यालयले बिभिन्न समयमा बरामद गरेका अबैध हतियार जिल्ला सुरक्षा समितिलाई बुझाएको छ । शनिबार आरक्षका प्रमुख संरक्षण अधिकृत बीरेन्द्र कंडेलले ती हतियार बुझाएका हुन् ।
शनिबार बसेको सुरक्षा समितिको बैठकमा अर्धन्यायिक निकायका प्रमुख तथा प्रतिनिधि समेतको सहभागितामा ती हतियार बुझाइएको हो । बुझाइएका हतियारमा एक एसएलआर र ८ भरुवा बन्दुक तथा बारुद लगायतका सामाग्री समेत छन् ।
७ दशमलब ६२ मिलिमिटरको एसएलआर आरक्षले २०७८ चैत ३० गते रुकुमको पुथा उत्तरगंगा गाउँपालिका ५ को घुस्तुङखोलाबाट बरामद गरेको हो । त्यस्तै नालमात्रै रहेको ३०३ राइफलको नाल पनि सोही स्थानबाट बरामद भएको कंडेलले जानकारी दिए ।
ती बाहेक पुथा उत्तरगंगाकै वडा नंं २ को मैकोटबाट १ थान, वडा नंं १ को तिज्याङबाट अर्को २ थान र वडा नंं २ कै माझडाँडाबाट २ थान भरुवा बन्दुक बरामद भएका थिए । पुथा उत्तरगंगाकै वडा नंं ५ को काजरजंगबाट २ थान र खोरेवालाबाट १ थान भरुवा बन्दुक पनि बरामद भएका थिए । ती अधिकांस हतियार २०७७ सालमा बरामद भएपनि आरक्षमा सुरक्षित थिए ।
त्यस्तै २ सय ग्राम बरुद, ७२ थान सिसा समेत आरक्षले बरादम गरेर समितिमा बुझाएको हो । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रजिअ चित्राङगत बराल, प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का, सशष्त्र प्रहरी, सेना, सरकारी वकिल र डिभिजन वन कार्यालयका प्रमुखको उपस्थितिमा हतियार बुझाइएको हो ।
पछिल्लो तीनबर्षमा आरक्षले २ वटा घोरल, १ नाउरको छालासहित एकजना अबैध सिकारी पक्राउ गरेर मुद्दा समेत चलाएको कंडेलले जानकारी दिए ।
सोही समयमा आरक्षको क्षेत्रबाट ५ हजार केजी बिभिन्न प्रजातीको जडिबुटी, १ हजार ५ सय क्युफिट काठ लगायत चोरी निकासी गर्ने १६ जनालाई पक्राउ गरेर कारवाही चलाइएको समेत कंडेलले बताए ।