प्रतिकात्मक तस्बिर
बागलुङ, १३ साउन– चार बर्षअघि खाली गरिएका सडकपेटी व्यापारीक सामग्रीले भरीभराउ भएपछि बागलुङ नगरपालिकाले पुनः सडकपेटी खाली गर्ने अभियान थालेको छ ।
बजार क्षेत्रका सडकहरु साँगुरा हुँदा पैदलयात्रुहरु र ट्राफिक व्यवस्थापनमा समस्या परेको भन्दै नगरपालिकाले सार्वजनिक सूचनामार्फत सडक पेटी खाली गर्न भनेको हो ।
सडक पेटीमा कुनैपनि व्यपारीक सामग्री नराख्न नगरपालिकाले व्यवसायीलाई आग्रह गरेको छ । चार बर्ष पहिले पनि पटक–पटक सार्वजनिक सूचना गर्दासमेत व्यवसायीले अटेरी गरेपछि सडकमै पु¥याएर ठेला गाडा राख्ने, पेटीमा सामग्रीहरको थुप्रो लगाउनेहरुको सामग्रीनै जफत गरिएको थियो ।
तत्कालिन समयमा केही समय सडक पेटी खालि भएपनि पुनः व्यवसायीले सडकपेटी कव्जा गर्नथालेपछि नगरपालिकाले खालि गर्ने अभियान थालेको हो ।
नगरसभा सदस्य अर्जुन घिमिरे नेतृत्वको बजार व्यवस्थापन समिति गठन गरेर सडक खुल्ला बनाउने जिम्मेबारी दिईएको छ ।
‘नगरले कार्यबिधि बनाएर सडक पेटी खालि गर्ने काम थालेको हो, पहिलो चरणमा सार्वजनिक सूचना गरिएको छ’ संयोजक घिमिरेले भने ‘ठेला गाडामा व्यापार गर्न रोक लगाई सकिएको, अव हरेक पसलमा पुगेर मौखिक जानकारी गराउँछौं, अटेरी गरे सामान जफत गरेर जरिवाना गछौं ।’
आउँदो आईतबारदेखि समितिले भौतिक उपस्थितीमै सडकपेटी खाली गराउने अभियान थाल्ने घिमिरेले बताए । ‘व्यवसायीले पनि सरात्मक हिसावले बुझिदिनुपर्छ, सडक पेटीमा राखेर व्यापार गर्दा सबैलाई असहज भएको छ’ घिमिरेले भने ‘सबैले एउटै व्यवहार गर्दा कसैलाई असर पर्दैन् ।’