बागलुङ, २१ साउन– लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक ३२५ जे नेपाल समूहका १० वटा लायन्स क्लब र १ वटा लियो क्लबको पदस्थापन शनिबार सम्पन्न भएको छ ।
बागलुङमा संचालनमा रहेका ९ वटा पुराना क्लब र हालै स्थापना भएको लायन्स क्लब अफ गाजा हिल समेतको पदस्थापन भएको हो । अन्य क्लबको अधिवेसनबाट नयाँ समिति चयन भएको हो भने गाजा हिल हालै गठन भएको हो ।
पदस्थापन कार्यक्रममा बोल्दै डिस्ट्रीक गर्भनर हरिप्रसाद मरहट्टाले हरेक सदस्य उद्यमशिल बन्नुपर्ने बताए । उनले रोजगारी, उत्पादन र बजारीकरणसँग जोडिने योजना बनाउन, सोही प्रकृतिका काम गर्न पनि उनले सबैलाई आग्रह गरे । ‘लायन्समा बस्ने भनेको शुल्क तिर्ने मात्र हैन, उद्यमी बनेर कमाइ बढाउने पनि हो’ उनले भने, ‘यो एउटा बजारीकरणको फोरम बनाउन पनि सकिन्छ ।’
कार्यक्रममा हालै गठन भएको लायन्स क्लब अफ गाजा हिलकी अध्यक्ष मिना थापाले बार्षिक कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उनले स्वास्थ्य शिविर, रक्तदान, नेतृत्व विकास, पत्रकारिता तथा प्रतिवेदन लेखन तालिम संचालन गर्ने, गाजा दहको सरसफाइ गर्ने, पर्यटकीय गाजा दहको विकास र प्रचारका लागि मोटरसाइकल यात्रा गर्ने लगायतका योजना सुनाएकी थिइन् ।
कार्यक्रममा लायन्स क्लब अफ बागलुङ कालिका, बागलुङ पञ्चकोट, बागलुङ रोज भिलेज, बागलुङ गोल्डेन ब्रिज, बागलुङ गौरीधाम, बागलुङ काठेखोला, बागलुङ बलेवा भैरव, बागलुङ जैमिनी, बागलुङ पिस टाउन र लियो क्लब अफ बागलुङका नव निर्वाचित अध्यक्षहरुले पनि कार्ययोजना पेश गरेका थिए ।
कार्यक्रममा लायन्स क्लबका केन्द्रीय सल्लाहकार मिलन थापा, प्रजापति बास्तोला, लियो क्लबका केन्द्रीय सल्लाहकार नरेश कंडेल, जोन चियर पर्सन सनिसा घर्ती, गणेश लम्साल, बद्री ढ्ुंगाना, डिस्ट्रीक लियो सल्लाहकार बिष्णुप्रसाद दाहाल, लगायतले बोलेका थिए । लायन्स क्लब अफ बागलुङ गोल्डेन ब्रिजका अध्यक्ष महेन्द्र शर्माको अध्यक्षता, लायन्स क्लब अफ बागलुङ कालिकाका अध्यक्ष नारायण पौडेल र काठेखोलाका अध्यक्ष नरेन्द्र कंडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।