बागलुङ, २४ साउन– साविकको धौलागिरीका चार जिल्लामा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउन नदिने अभियान थालिएको छ । नेपाल टेलिकम बागलुङले साविक धौलागिरीका चार जिल्लामा १२ वटा बिटिएस टावर विस्तार गरेर सञ्चार सञ्जाललाई थप सशक्त बनाउन थालेको हो ।
बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिएसएम मोबाईल नेटवर्क कमजोर रहेका स्थानमा बिटिएस टावर थप गर्न लागिएको हो । ‘अहिले नेटवर्ककको एक्सेस पुगेर पनि भ्वाईस र डाटा कमजोर भएका ठाउँहरुमा बिटिएस टावर थप गर्न लागिएको हो’ टेलिकम बागलुङका प्रमुख केशव शर्माले भने ‘आवाज नबुझिने, इन्टरनेट निकै कम चल्ने ठाउँमा चालु आर्थिक बर्षमा हाम्रो सेवा थप ससक्त हुन्छ ।’
ग्राहकलाई सञ्चारको सहज पहुँचमा राख्ने उद्देश्यले बागलुङमा चार, म्याग्दी र पर्वतमा तीन÷तीन तथा मुस्ताङमा दुईवटा बिटिएस टावर थप गर्न थालिएको हो । चालु आर्थिक बर्षभित्रै सबै टावर सञ्चालनमा आउने शर्माले बताए । बागलुङको निसीखोलाको भल्कोट, वडिगाडको दगातुम्डाँडा र टुनिबोट र बागलुङ नगरपालिकाको रायडाँडामा टावर बिस्तार गर्न लागिएको हो ।
मुस्ताङको लोमान्थाङ, घ्युला र साङ्टा भन्ने ठाउँमा बिटिएस जडानको योजना रहेको छ । म्याग्दीको लुलाङ, लेकगाउँ र टिकावाङमा मोवाईल नेटवर्क सुधारका लागि बिटिएस टावर थप गरिने शर्माले बताए ।
त्यस्तै, पर्वतको भोक्सिङ र घण्टेदेउरालीमा टावर बिस्तारको योजना रहेको छ । ‘केही ठाउँमा काम सुरु भएको छ, केहीमा प्रक्रिया अघि बढेको छ’ शर्माले भने ‘अबरोध नभए फोरजी सेवासहितको मोबाईल नेटवर्क बिस्तार हुन्छ ।’
नयाँ संरचना बिस्तार र भएका संरचनाको स्तरोन्नतीको काम चलिरहेको शर्माले बताए । टेलिकमले हालसम्म चार जिल्लामा १७० भन्दा धेरै बिटिएस टावर बिस्तार गरिसकेको छ । ती टावरको पहुँच पुगेर पनि नेटवर्क कमजोर भएका क्षेत्रको सुविधाका लागि टावर बिस्तार गर्न लागिएको हो ।