बागलुङ, २७ साउन– सुरक्षित वैदेशिक रोजगारीका लागि संचालित आप्रवासी श्रोत केन्द्र बागलुङले गत आर्थिक बर्ष १२ मृतकको बीमा रकम उपलब्ध गराएको थियो । गत असार १३ पछि भने अहिलेसम्म ४ जनाको मृत्यु भैसकेको निवेदन आएको छ ।
उनीहरुको कागजात जुटाएर पीडितलाई क्षतिपूर्ति, राहत र बीमा रकम उपलब्ध गराउने काममा केन्द्रका कर्मचारीले काम गरिरहेका छन् । गत असार १३ गते साउदी अरबको अमेरिकन दुताबासमा काम गर्ने बागलुङ नगरपालिका–१३ पैंयुपाटाका नैनसिं नेपालीको बन्दुकधारीले गोली हानेर हत्या गरेका थिए । उक्त घटनापछि विदेशमा बागलुङका ४ जनाको मृत्यु भएको हो ।
साउदीमै काम गर्ने जेठो छोरा अभिषेशले बाबुको शव नेपाल ल्याएर अन्तिम संस्कार गरे । केही समयअघि रुपन्देहीको तिलोत्तमामा बस्न थालेपनि बसाइसराइ नभएकोले उनीहरुको कागजात बागलुङकै छ । सन् २००१ मा कन्सुलेटमा काम गर्न गएका परियारपछि दुताबासको सेक्युरिटी थिए ।
९ महिनाअघि छोरा अभिषेश पनि साउदीमै काम गर्न गए । उनले पनि दुताबासमै काम गर्थे । डिउटीमा हुँदा मृत्यु भएकोले दुताबासले दिने बीमा र अन्य राहतका लागि उनी सुरक्षित आप्रवासन कार्यक्रम सामीको बागलुङस्थित आप्रवासी श्रोतकेन्द्रमा कागजात लिएर आएका छन् ।
केन्द्रकी परामर्शकर्ता गंगा शर्मा रिजालले आवस्यक कागजात संकलन गरेर वैदेशिक रोजगार बोर्डमा पठाउन लागेको बताइन् । श्रम स्वीकृति र आवस्यक कागजात बनाएर विदेश गएकाहरुको मृत्यु भएमा तत्काल क्षतिपूर्ति र राहत तथा बीमा रकम उपलब्ध गराउन सकिन्छ । कागजात नहुँदा कतिपयले बीमा रकम पाएका छैनन् ।
रिजालको कक्षमा विदेशमा मृत्यु भएकोले आवस्यक सहयोग गरिदिन ४ निवेदन आएका छन् । चारैजना असार महिनामा मात्रै मृत्यु भएका हुन् । मृत्यु हुनेमा बागलुङको निसीखोला–२ का दुइजना, काठेखोला गाउँपालिका–२ का एकजना र बागलुङ नगरपालिका–१३ का एकजना छन् । निसीखोला–२ का प्रेमबहादुर दमाइको मलेसियामा, निसीखोला–२ कै गोकुल कार्कीको दुवईमा र काठेखोला–२ का ऋषिराम शर्माको पनि साउदी अरबमा मृत्यु भएको हो ।
कोठाभित्र मृत भेटिएका शर्माको भने एक महिना बित्नैलाग्दा पनि अझै शव आएको छैन । अन्य तीन जनाको भने शव ल्याएर दाहसंस्कार भैसकेको छ । आवस्यक कागजात नभएकोले उनको शव ल्याउन समस्या भएको वडा अध्यक्ष बिद्यापति शर्माले बताए । ‘डिउटीमा खटिंदा मृत्यु भएको वा अन्य घटना भएको र कोठामा मृत भेटिनुमा पनि धेरै फरक पर्ने रहेछ’ शर्माले भने, ‘आबस्यक पहल गरिरहेका छौं, तर केही प्रक्रियागत समस्याले ढीला भएको हो ।’
वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिनुपर्ने, मान्यताप्राप्त संस्थाको माध्यमबाट जानुपर्ने लगायतको सल्लाह केन्द्रले दिने गरेको छ ।
मृतक नेपालीको अन्तिम संस्कार सकेर छोराले राहत र बीमाका लागि प्रक्रिया थालिसके । तर अन्य तीन तीन जनाको प्रक्रिया अगाडि बढाउन केही ढीला भएको कार्यक्रम संयोजक मीनप्रसाद उपाध्यायले बताए । कतिपयले केन्द्रको सल्लाह नमान्दा पनि दुर्घटनामा पर्ने, मृत्यु भए शव ल्याउन ढीला हुने, राहत र बीमा रकम नपाउने अप्ठ्यारो परेको हो । आवस्यक कागजातको एक एकप्रति घरमा नछाडेकाहरुले पनि समस्या पर्दा उपचार नपाएको उनले बताए । ‘कागजात घरमा छाडेर गएकोलाई हामीले तत्काल खोजी गरेर कानूनी उपचारको व्यवस्थापन समेत गराएका छौं’ उपाध्यायले भने, ‘केही प्रमाण छैन भने उद्दारमा समस्या पर्छ ।’
पछिल्लो तीन बर्षदेखि जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउने सबैलाई केन्द्रको परामर्श र कागजातमा छाप अनिवार्य बनाइएको छ । कतिपयले भने परामर्शपछि पनि लापरबाही गर्दा दुर्घटना हने गरेको तथ्यांक छ । उपाध्यायका अनुसार गत आर्थिक बर्ष मात्रै केन्द्रले वैदेशिक रोजगारीमा हिँडेका ८ हजार ६ सय ८४ जनालाई परामर्श दिएको थियो । केन्द्रकै पहलमा रोजगारीको क्रममा विदेशमा मृत्यु भएका १२ जनाको राहत, क्षतिपूर्ति र बीमा रकम आएको उनले बताए ।