बागलुङ, १० भदौ– बागलुङ नगरपालिकाको अगुवाइमा विभिन्न संघसंस्था, सामाजिक अगुवा र सुरक्षा निकायले सरसफाइ अभियान थालेका छन् ।
शनिबार बागलुङ नगरपालिका वडा नं. १ को सहिद पार्क सफाइ अभियान थालिएको हो । यो अभियान केही साता निरन्तर अगाडि बढ्ने नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
सहिद पार्क तथा नेपालकै लामो झोलुंगे पुलको आसपासको पार्कमा फोहोर र झाडी भएकोले नियमित अभियानमार्फत सफाइ गर्न लागिएको नगरपालिकाले जनाएको छ । शनिबार भएको अभियानमा नेपाली सेना, सशष्त्र प्रहरी, नेपाल प्रहरी, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी तथा बागलुङमा क्रियाशिल बिभिन्न लायन्स क्लबहरुले साथ दिएका हुन् । पहिलो दिनको सफाइ अभियानमा ६ ट्रयाक्टर फोहोर निकालिएको थियो ।
झरी परेकोले सोचेजती काम गर्न नसकिएपछि केही काम भएको श्रेष्ठले बताए । उनले अभियानमा जोडिएका सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । सफाइ अभियानले लामो पुल घुम्न आउने पर्यटकका लागि पनि आर्कषण बढ्ने बताइएको छ । सरसफाइ अभियान आगामी शनिबार पनि निरन्तरता दिइने छ ।