बागलुङ, ११ भदौ– सुनसरीको धरानमा खुलेयाम गोरु काटेर खानेहरुलाई कारवाहीको माग गर्दै बागलुङका बिभिन्न धार्मिक संघसंस्थाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
विश्व हिन्दु महासंघ बागलुङको अगुवाईमा ओमकार भित्रका बिभिन्न १७ धार्मिक तथा सामाजिक संस्थाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय पुगेका संस्थाका प्रतिनिधिले ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले मिलेर बसेको बहुजातीय, बहुभाषी र बिभिन्न धर्म मान्ने समाजलाई विदेशीका मतियारहरुले खुलेयाम भाँड्न थालेको आरोप लगाए । ज्ञापनपत्रमार्फत वैदिक सनातन धर्म मान्नेहरुलाई चुनौती दिनेगरी सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेर गोरु काटेर खाने काम भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
नेपालको संबिधान र नियम कानूनले समेत गाईगोरु काटेर खानु दण्डनीय अपराध भनेकाले तत्काल कारवाहीको प्रक्रिया थाल्नुपर्ने उनीहरुको माग छ । ‘गोरक्षनाथ पशु्पतीनाथले परिपालन गरेको यो देशमा ९४ प्रतिशत बढी ओमकार परिवार र धेरै संख्यामा हिन्दुहरुको बाहुल्य रहे पनि हामी नेपालको संविधान अनुसार धर्मनिरपेक्षतालाई कदर गर्दै एकआपसमा मिलेर बसिरहेका छौं’ ज्ञापन पत्रमा भनिएको छ ‘हाम्रो धैर्यता खल्बलाउने गरी पछिल्लो समय हुँदै आएका खराब हर्कत र गतिविधिबाट हाम्रो धैर्यताको बाँध भत्किएको छ ।’
ज्ञापनपत्रमा भनिएको छ ‘नेपालको संविधानले गौमातालाई राष्ट्रिय जनावरको रुपमा सम्मान दिएको र हामी हिन्दुहरुले माताको रुपमा पुजाआजा गरिँदै आएकोमा आफ्ना आँखासामु माताको हत्या भएको टुलुटुलु हेरेर बस्न सकिँदैन् ।’ दोषीलाई कुनैपनि बहानामा छुट नदिन र कारवाहीको दायरामा ल्याउन ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराईएको छ ।
विश्व हिन्दु महासंघ नेपाल बागलुङ, पञ्चकोट धाम बागलुङ, रङ्ग वेङ्केटेश्वर मुक्तिनारायण मन्दिर शालिग्राम संग्रहालय, गौरीधाम शिव मन्दिर, राधाकृष्ण मन्दिर सेवा समिति, हरे कृष्ण हरे राम स्कोन बागलुङ, आशापूणेश्वर शिवालय मन्दिर, गणेश मन्दिर, ज्ञानोदय बुद्ध बिहार, सत्यसाई सेवा केन्द्र, राधामाधव सेवा समिति, प्रजापिता ब्रह्माकुमारी इश्वरीय विश्वबिद्यालय, कालिका भगवती गुठी, क्षत्री समाज बागलुङ त्रिपुरेश्वर महादेव मन्दिर, राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान र लक्ष्मी वेङ्केटेश्वर मन्दिर लगायतका संस्थाले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।