बागलुङ, २३ भदौ– बिद्यामन्दिर माध्यामिक बिद्यालयको कक्षा ११ र १२मा पढ्ने बिद्यार्थीलाई बागलुङ नगरपालिकाको सरसफाइ अभियानमा जोडिएको छ ।
शुक्रबार बिद्यालयले अभियानमा जोडेको हो । बिद्यालयका ४ सय ५० बढी बिद्यार्थीले शुक्रबार बानपा–१ को बाङगे चउरस्थित कवर्ड हल, शहिद पार्क र कालीका भगवती मन्दिर बाहिरको पार्किङ स्थलसम्म सरसफाइ गरेका छन् ।
बिद्यार्थीहरुलाई शुक्रबार किताब फ्रि अभ्यास गराउने लक्षले यो काममा लगाएको प्रधानाध्यापक छविरमण रेग्मीले बताए । उनले पाठ योजनामा समेत प्रयोगात्मक अभ्यास गर्नुपर्ने बिषय रहेको र बागलुङ नगरले शुरु गरेको सरसफाइ योजनामा जोडर उनीहरुको प्रयोगात्मक अभ्यास गराइएको पनि उनले जानकारी दिए ।
ग्रामीण क्षेत्रबाट आएर पढेकाहरु धेरै भएको र नगरको अभियान पनि चलेकोले सफाइ अभियानमा जोड्दा सकारात्मक सन्देश जाने, बिद्यार्थीमा पनि सामाजिक कामप्रति चासो बढ्ने उनले विश्वास व्यक्त गरे । अभियानको शुभारम्भ गराउँदै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बजार, नगर र सबै क्षेत्रको सफाइ गर्दा आम नागरिकमा मन समेत सफा बन्ने बताए ।
‘जबसम्म हामीले हाम्रो वरपर सफा गर्दैनौं, हाम्रो मन धमिलो बन्छ’ श्रेष्ठले भने, ‘बिद्यार्थी आएर सफाइ अभियानमा जोडिंदा अभिभावकलाई पनि प्रेरणा मिल्नेछ ।’ नगरपालिकाले जनप्रतिनिधिसहित कर्मचारी मिलेर हरेक शनिबार पनि सफाइ गर्न थालेको छ । अभियानमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य सहित शिक्षकहरुपनि सहभागि थिए । सरसफाइकालागि हसिया, कोदालो, गैंची र बेल्चा तथा फोहोर फाल्ने ट्रयाक्टर नगरपालिकाले उपलब्ध गराएको थियो ।