बागलुङ, २५ भदौ– बागलुङमा पछिल्लो डेढ महिनामा दश जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक बर्ष सुरु भएपछि अघिल्ला बर्षहरुको तुलनामा आत्महत्याका घटना ह्वात्तै बढेका हुन् ।
पछिल्लो डेढ महिनामा ८ जनाले झुण्डिएर आत्माहत्या गरेका छन्भने एक जनाले बिष सेवन र अर्का एक जनाले हाम फालेर आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ ।
विश्व आत्महत्या रोकथाम दिवस–२०२३ को अवसरमा आयोजना गरिएको अन्तरक्रियामा तथ्यांक प्रस्तुत गर्दै बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बिभिन्न कारणले आत्महत्याको दर ह्वात्तै बढेको उल्लेख गरे । उनका अनुसार अघिल्लो आर्थिक बर्षको १२ महिनामा ५३ जना र आर्थिक बर्ष २०७८÷०७९ मा ४४ जनाले आत्महत्या गरेका थिए ।
‘शारीरिक, मानसिक र सामाजिक कारणहरुले आत्महत्या हुने गरेको पाईन्छ, आत्महत्याका बिषयमा सचेतनाको अभव अर्को कारण हो’ खनालले भने ‘आत्महत्या गर्नेहरुले दिएका संकेतका बिषयमा सचेतना हुने हो भने मात्रै आधा घटना जोगाउन सकिन्छ ।’ आत्महत्या स्वयं व्यक्तिको मात्रै कारण नहुने उनले बताए ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले आत्महत्या रोकथामका लागि स्थानीय सरकार क्रियाशिल रहेको बताए । उनले जीवन नदेख्नेहरुलाई परामर्शका माध्यामबाट जीवन देखाउने र सम्भावनाहरुको खोजी गर्नुपर्ने बताए । पछिल्लो समय बैदेशीक रोजगारी, बिभेद र आर्थिक कारकहरु आत्महत्याको कारण हुने गरेकोमा उनले चिन्ता व्यक्त गरे ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जीवनप्रतिको माया बढाउँदा आत्महत्या घटाउन सकिने बताए । ‘अनेक समस्या देखाएर मानिस जीवन फलिरहेको छ, आशाका किरणहरु देखाउने र समस्या पहिचान गरेर उपचार गर्ने गर्दा आत्महत्या गर्नै पर्दैन्’ शर्माले भने ‘व्यक्ति मात्र होईन समाजले पनि उसको समस्या बुझ्ने र समाधान गर्ने प्रयास गर्दा आत्महत्या आधा घट्छ ।’
पछिल्लो समय अभिभावकलाई धम्क्याउनकै लागि बालबालिकाले आत्महत्याको बाटो रोज्ने गरेकोप्रति शर्माले चिन्ता व्यक्त गरे ।
अन्तरक्रियामा सहभागीले सामाजिक बिभेद, आर्थिक, मानसिक र सामाजिक समस्याहरुको पहिचान र आत्माहत्या रोकथाम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलको अध्यक्षता र सिअहेव अधिकृत डिल्ली आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।