बागलुङ, २५ भदौ– मालिका सेवा समाज बागलुङले प्राणघातक रोग लागेका गणेशबहादुर थापा र दुर्घटनामा घाईते भएका दिपक किसानलाई उपचार खर्च सहयोग गरेको छ । समाजले आईतबार बागलुङ बजारमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई जनही २० हजार रुपैयाँ उपचार खर्च सहयोग गरेको हो ।
बागलुङ नगरपालिका–९ तित्याङका निवर्तमान वडा अध्यक्षसमेत रहेका युवा राजनीतिककर्मी गणेशबहादुर थापा हाडको क्यान्सरबाट पीडित छन् । उनको नेपालमा उपचार हुन नसकेपछि भारतको चेन्नईस्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ ।
उनको उपचारका लागि एक करोड नेपाली रुपैयाँभन्दा धेरै खर्च हुने भएकाले खर्च जुटाउन ‘गणेश बहादुर थापा उपचार सहयोग अभियान’ सञ्चालन भैरहेको छ । थापाको उपचारमा सहयोग पु¥याउन समाजको तर्फबाट सानो सहयोग गरेको समाजका अध्यक्ष जीवनाथ शर्माले बताए । समाजले अभियानका संयोजकलाई नगद प्रदान गरेको थियो ।
मोटरसाईकल दुर्घटनामा घाईते भएका बागलुङ नगरपालिका–५ मालिकाका दिपक किसानलाई पनि उपचार खर्च अभाव भएकाले समाजले सहयोग गरेको हो । न्युन आय भएका परिवारका किसान दुर्घटनामा परी शरीरका बिभिन्न भागमा चोट लागेको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । किसानको उपचारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।