१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै बित्छ सुत्केरीको ज्यान


जनमञ्च संवाददाता
  • १० कार्तिक २०८० , शुक्रबार

  • समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै बित्छ सुत्केरीको ज्यान

    बागलुङ, १० कात्तिक/ तेस्रो सन्तान कोखमा रहेको थाहा पाएदेखि नै रीता रोका स्वास्थ्यचौकी पुग्थिन् । उनलाई नियमित गर्भको जाँच गर्न स्वास्थ्यकर्मीले सुझाएका थिए । गाउँमा हुने आमा समूहको बैठक होस् वा गर्भावस्था र सुत्केरी अवस्थामा हुने जोखिमका विषयमा छलफलका लागि उनको सक्रियता अरु महिलाका भन्दा धेरै हुन्थ्यो । स्वास्थ्यकर्मीको सल्लाहअनुसार सात पटक गर्भजाँच गराउनुभएकी रीताले अन्तिम अवस्थामा भने समयमा स्वास्थ्यचौकी पुग्न नसकेकै कारण मृत्युवरण गर्नुप¥यो ।

    बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँको छापाखानीकी ३२ वर्षीया उनको सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएकै कारण मृत्यु भएको हो, त्यो पनि नेपालीको महान् चाड दसैँकै बेलामा । गर्भजाँचका लागि स्वास्थ्य चौकी जानुपर्छ भन्ने थाहा पाएकी रीतालाई सुत्केरी गराउन भने स्वास्थ्यचौकी पु¥याइएन । कात्तिक ७ गते राति ९ बजे गोठमा सुत्केरी हुनुभएकी उनको भोलिपल्ट बिहान ४ बजे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पु¥याउँदा मृत्यु भइसकेको थियो । निसीखोलाका केही गाउँमा अझै पनि गोठमै सुत्केरी हुनुपर्ने प्रचलन छ ।

    गोठमा रीता सुत्केरी भएपछि छिमेकीले थाहा पाए । छोरी जन्माउनुभएकी रीताको भन्दा छोरीको ख्याल छिमेकीले धेरै गरे । समयमै साल नझरेकै कारण उहाँको अत्यधिक रक्तश्राव हुँदा मृत्युवरण गर्नुपरेको बोहोरा गाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द्र साहीले बताए ।

    उउका अनुसार ९ बजे सुत्केरी हुनुभएकी रीताको साल नझरेपछि छिमेकीले राति १ बजे स्वास्थ्य स्वयंसेविकालाई खबर गरेका रहेछन् । रातको समयमा एक घण्टा टाढाबाट स्वयंसेविका पुग्दा रगत धेरै बगिसकेको थियो । दुई बजे पुग्नुभएकी स्वयंसेविकाले १५ मिनेट दूरीमा रहेको स्वास्थ्य संस्था तत्काल पु¥याउन सल्लाह दिनुभयो । बोहोरा गाउँ स्वास्थ्यचौकीमा पहिलै खबर गरेकाले सबै स्वास्थ्यकर्मी सामग्रीसहित तैनाथ थिए तर समय घर्किसकेकाले स्वास्थ्य संस्थाले केही गर्न सकेन र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइयो । “म आफैँले लिएर बुर्तिबाङ पुगेँ तर केही लागेन्”,स्वास्थ्यचौकीका प्रमुख शाहीले भने, “स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको भए ज्यान बचाउन सकिने केश हो तर ढिला भएकाले विज्ञानको पनि केही लागेन ।” बिहान ४ बजे उनलाई प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । यसअघि दुई छोरा जन्माएकी रीताले छोरीलाई जन्म दिइन् । छोरीको स्वास्थ्य भने सामान्य रहेको उनले बताए ।

    “पहिला जाँच गर्न आउँदा रगतमा समस्या देखिएको थियो, हामीले पोखरा वा बुटवल गएर उपचार गर्न सल्लाह दिएका थियौँ । उहाँले साथीभाइसँग सल्लाह पनि गर्नुभएको रहेछ, तर आर्थिक अभावका कारण जानुभएनछ”, प्रमुख शाहीले भने, “आर्थिक अवस्था र सामान्य हेलचेक्य्राइँका कारण सुत्केरीको ज्यान गयो । सुत्केरी भइसकेपछि पनि समयमै स्वास्थ्य संस्था आएको भए ज्यान बचाउन सकिने अवस्था थियो ।”

    रीताका पाँच वर्षीय छोराको एक महिनाअघि मात्रै भिरबाट लडेर मृत्यु भएको थियो । पुत्रशोक, परिवारको कमजोर आर्थिक अवस्थालगायत कारणले समयमा अस्पताल पुग्न नपाएकी रीताले छोरीलाई जन्म दिएपछि मृत्युबरण गर्नुप¥यो। रीताका श्रीमान् ज्याला मजदुरी गरेर जीवनयापन गर्छन् ।

    पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा अभियान सञ्चालन गरिरहेको बागलुङमा अझै पनि घरगोठमा सुत्केरी हुँदा महिलाले ज्यान गुमाइरहेका छन् । जनचेतनाको कमी र आर्थिक अवस्थाका कारणले यस्ता घटना दोहोरिने गरेको सरोकारवाला बताउँछन् । “पहिलो कुरा त स्वास्थ्य संस्थामा सुत्केरी हुँदा धेरै जोखिम कम हुन्छन्, अर्को कुरा सरकारले फ्रि हेलिकप्टरको व्यवस्था गरेको थियो, यी सबै कुराको बेवास्ता गर्दा सुत्केरीको ज्यान गइरहेको छ”, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने, “अहिले नहुनपर्ने घटना भयो, थप घटना हुन नदिनका लागि हामी अभियान सञ्चालन गर्छौं ।” सुत्केरी हुनका लागि स्वास्थ्यचौकी पु¥याउनुर्पेमा कोही नभएकै कारण रीताले ज्यान गुमाउनुपरेको उनको भनाइ थियो । घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुने भएकाले कसैले पनि त्यसो नगर्न प्रमुख शर्माले सुझाए।

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend