बागलुङ, २६ फागुन– चैत दशैंका अवसर पारेर विगतका बर्षमा झैँ यो वर्ष पनि बागलुङमा चैतेदशैं मेला आयोजना गरिएको छ । कालीका भगवती गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा आगामी चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म बागलुङ नगरपालिका–१ बाल उद्यानमा मेला आयोजना गरेको हो ।
लाखौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको चैत्राष्टमी मेला यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाउन लागिएको कालीका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताए । ‘गन्तव्य बागलुङ कालीकाः कला र संस्कृतिको प्रवर्द्धन–स्थानीय उत्पादन, ब्यापार र पर्यटन प्रवर्द्धन’ मुल नारा तय गरिएको छ ।
मेलाको अवसरमा कालीका कप खुला भलिबल प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यान लगायतका कार्यक्रम समावेश गरिएको छ ।
सयौं वर्षदेखि चल्दै आएको चैत्राष्टमी मेला यो वर्ष जिल्लामा क्रियाशील संघसंस्था, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाउने तयारी भईरहेको कालीका गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिए ।
मुलुककै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालीका भगवती मन्दिरमा सो अवधिमा पाँच लाखभन्दा बढी भक्तजन दर्शन गर्न आउने गुठीले अनुमान गरेको छ । चैतेदशैं मेलामा विगतमा भन्दा यो वर्ष धेरै धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको अध्यक्ष खड्काले बताए ।