बागलुङ, ९ असोज-सडक डिभिजन कार्यालय बागलुङमार्फत काम भएका गत वर्षका योजनामा मात्रै ११ करोड ५० लाख बढी भुक्तानी दिनुपर्ने बाँकी छ । तर चालुवर्ष जम्मा १७ करोडको ठेक्का लगाउन पाइने बजेट स्विकृत छ ।
उक्त बजेटले गत वर्षको बक्यौता तिर्ने वा नयाँ काम गर्ने भन्नेमा कर्मचारी अलमलमा छन् । ‘बजेट साह्रै थोरै छ, पुरानो भुक्तानी तिर्दा नयाँ काम थाल्न नसकिने अवस्था छ’ सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी थमन रेग्मीले भने, ‘ठूला आयोजना त गर्नै नसकिने भयो ।’ यसअघि अलपत्र परेका कतिपय योजनाको छुट्टै बजेट व्यवस्थापन गरेर ठेक्का लगाउन प्रयास गरिने उनले बताए ।
सरकारी नियमन अनुसार अघिल्लो वर्ष काम गरेको भुक्तानी बाँकी रहे चालुवर्ष तिर्नका लागि बजेटलाई प्राथमिकतामा राख्नुपर्छ । गत वर्षको भुक्तानीमा लगाउँदा यो वर्ष कामै नहुने अवस्था आएको उनले बताए । अघिल्लो वर्षदेखिनै यो समस्या भैरहेको हो । बागलुङको अदालत चौपारीदेखि सिगाना, चापाखर्क, गाजादह, बरेङहुँदै शान्तिपुर जाने सडकसहित ४ ठूला पूर्वाधारका योजनामा गत वर्षको भुक्तानी नभएको हो । गत आवको थपिंदा डिभिजनले काम अघि बढाउनै नसकेको हो ।
अदालत चौपारीदेखि सिगाना १० किमी खण्ड निर्माण गरिरहेको ठेकेदार कम्पनीले भुक्तानी नपाएर अघिल्लो आर्थिक वर्षको असारबाटै काम रोकेका थिए । आव २०७९÷८० को असार मसान्त अघिको कामको भुक्तानी गतवर्ष पनि नपाएपछि ठेकेदार कम्पनीले काम छाडेर हिंड्न बाध्य भएको गुनासो गरेका छन् । ठेक्का सम्झौता भएको ९ महिनासम्म डेढ सयसम्म कामदार, दर्जन उपकरण प्रयोग गरेर काम गरेको ठेकेदार कंपनी ‘कर्ण बिल्डर्स’ले काम छाडेर हिडेका थिए । काम गरेको रकम समेत भुक्तानी नपाएको र चालुवर्ष पनि नपाउने निश्चित भएपछि ठेकेदारले कामदारलाई फिर्ता पठाउन बाध्य भएको साइट इन्चार्ज सुदीप श्रेष्ठले बताए ।
ठेकेदार कम्पनीले अघिल्लो आर्थिक वर्षको मात्रै साँढे ३ करोड भुक्तानी नपाएको हो । ‘काम पनि राम्रो गरेको थियो, समय अघिनै सकिने संभावना थियो’ सडक डिभिजन कार्यालय एक प्राविधिकले भने, ‘चालुवर्ष पनि भुक्तानी दिने पैसा छैन ।’ श्रेष्ठका अनुसार, कुल १० किमी सडकको स्ट्रक्चरको ८० प्रतिशत काम सकिएको थियो । घुम्तीहरु ढलान भएका छन् । बाँकी सडकको अधिकांस खण्ड ग्राभेल भैसकेकोमा काम पुरा नगरेपछि बर्षातमा खसेका पहिरो समेत पन्छाइएको छैन । २०८१ फागुनमा काम सक्ने लक्ष्य राखेको ठेकेदारले बजेटकै कारण काम नभ्याएको बताए ।
समयमा बजेट नआएकै कारण बागलुङकै रामरेखादेखि म्याग्दीको रत्नेचौर जाने बागलुङ बेनी सडकको काम गर्न लागेको ‘गजेन्द्र नयाँबाटो संयुक्त निर्माण सेवा’ले पनि काम रोकेको हो । गलकोटको मल्मदेखि पाण्डवखानी जाने सडक, मुस्ताङ र म्याग्दी लगायतका जिल्लाका ठूला योजनामा पनि बजेट कटौती भएको डिभिजन इन्जिनियर अनुक्षा घिमिरेले बताइन् । ‘ठूला पूर्वाधारका काम यो वर्ष ठप्पै हुने भए’ उनले भनिन्, ‘सक्नुपर्ने काम पनि अलपत्र परेका छन् ।’ दायित्व तिरेर उम्कने बजेट समेत नहुँदा ठेकेदारको गुनासो सुनेर बस्नुपरेको उनले बताइन ।
पूर्वाधार विकास कार्यालयमार्फत गरिने दर्जनबढी योजनामा पनि बजेट अभाव छ । रिजालचोकदेखि ताराखोला जाने सडक, मुलाबारीदेखि भातखाने सडक, जैमिनीको राङखानीहुँदै बरेङ लगायतका दर्जनबढी सडकमा बजेट दिन नसक्दा काम पुरा नभएको कार्यालयका प्राविधिकले बताए । सडक र अन्य पूर्वाधारहरु अलपत्र पर्दा ठेकेदारले काम नगरेको देखिएको तर बजेटकै सास्ती भएको ठेकेदारका प्रतिनीधिहरु गुनासो गर्छन् । ‘झट्टहेर्दा ठेकेदारले काम नगरेको देखिन्छ, तर दुइ वर्षदेखिको बजेट पाउनै समस्या भएको छ’ जुगल रफिना निर्माण कम्पनीका प्रतिनिधि प्रदिप गौतमले भने, ‘समयमा बजेट आउँछ भन्ने सुनिश्चित भए कामदार लगाउन सहज हुन्छ ।’