९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

आठ बर्षमा बन्यो कालीगण्डकीमा पक्की पुल


जनमञ्च संवाददाता
  • १२ कार्तिक २०८१ , सोमबार

  • आठ बर्षमा बन्यो कालीगण्डकीमा पक्की पुल

    बागलुङ/ बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणको लामो प्रतीक्षापछि कालिगण्डकी नदीमा पक्की पुल बनेको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने पुल निर्माण थालेको झण्डै सात वर्षपछि तयार भएको हो । पोखरादेखि पर्वतको फलेबासहुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकको कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुसी छन् ।

    कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने लिंक रोड तथा पोखरादेखि गलकोट जाने वैकल्पिक मार्गका रूपमा यो सडक झन्डै ५ वर्षअघि नै सूचीकृत भएको हो । पोखरादेखि गलकोटसम्मको सडक तयार हुँदा कालिगण्डकी नदी वारपार गर्न बन्दै गरेको पुल भने सात वर्षपछि सम्पन्न भएको हो । निर्धारित समयमा काम सक्न प्राविधिक र भौगोलिक कारणसमेत कारक बन्दा पुल निर्माणमा ढिलाइ भएको थियो ।

    रसुवा÷श्री गीता÷फेवा संयुक्त निर्माण कम्पनीले ०७३ असोज ९ मा सम्झौता गरेको ठेक्काको काम ढिला गरी सकिएको हो । उक्त पुलको पूर्वतर्फको खण्डमा सडकले जोड्न बाँकी छ । पहरो परेकाले झन्डै ५० मिटर सडक नयाँ बनाउनुपर्ने छ । यो सडक बनेपछि मंसिरभित्र यो सडकमा मोटर गुड्न सक्ने ठेकेदार कम्पनीका प्रतिनिधि नीलकुमार राइले बताए । पश्चिम किनारमा कालिगण्डकी करिढोर कालापत्र हुँदै गरेको र पूवि किनारमा कुश्मा फलेवास सडक कालोपत्र भैसकेकाले यो पुल तत्कालै प्रयोग आउँछ । पहुँच मार्गले भने समस्या भैरहेको स्थानीय हरि केसीले बताए ।

    ‘पुल त सकियो, अब लिंक रोडको काम एक महिनामा सक्छौं,’ राईले भने, ‘भुक्तानीका लागि भने अझै हामीले डिजाइन परिवर्तन (भीओ) को पत्र पाएका छैनौं ।’ नदीमा पायल फाउन्डेसनबिना पुलको पिलर ठड्याउन नसकेपछि सडक विभागले डिजाइन परिवर्तन गरेको थियो । सोहीअनुसारको भुक्तानी स्वीकृति नभएको उनले बताए । डिजाइन परिवर्तन गर्नुपर्दा ठेकेदारले तीन पटकसम्म म्याद थपेका थिए ।

    जैमनी नगरपालिका–१ जैमिनीधामदेखि पर्वतको फलेवास नगरपालिकाको देवीस्थान जोड्ने १ सय मिटर लामो मोटरेबल पुल सम्पन्न भएपछि स्थानीयमा पनि आशा पलाएको छ । ‘यो पुलले पोखरासम्म जाने नयाँ मार्गको ढोका खोलेको छ,’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘जैमिनीका बासिन्दालाई अब पोखरा जान झन्डै ३० किमिसम्म छोटो पर्छ ।’ मध्यपहाडी लोकमार्गदेखि करिडोर हुँदै पोखरा पुग्ने विकल्प पनि खुलेको उनले बताए ।

    गत असारमा अन्तिम म्याद भए पनि मंसिरसम्ममा काम सकेर हस्तान्तरण हुने भएको सडक डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख हरिप्रसाद सुवेदीले जनाए । पुलको भौतिकतर्फ ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भए पनि वित्तीयतर्फ भने ८६ प्रतिशत मात्रै भुक्तानी भएको छ ।

    प्रसिद्ध जैमिनीधामदेखि पर्वतको फलेवासदेखि कार्कीनेटा, स्याङ्जाको पुतलीखेत हुँदै पोखरा जोड्ने यो वैकल्पिक र छोटो मार्ग हो । १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ रुपैयाँको लागतमा यो पुलको सम्झौता भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend