बागलुङ, १० मंसिर- १० औं उद्योग दिवशको अबसरमा बागलुङका ७ जना उद्यमी सम्मानित भएका छन् । पर्यटन तथा उद्योग कार्यालय बागलुङले विभिन्न बिधाका उद्यमीलाई आइतबार सम्मान गरेको हो ।
लामो समयदेखि सिलाई क्षेत्रमा सक्रिय रहेकी मंगोलियन लेडिज टेसर्सकी प्रोपाइटर प्रेमकुमारी श्रीष, उद्यमशिल दुना टपरी उद्योग संचालन गरेकी बलकुमारी पुन, अतिथि सत्कार होमस्टेका संचालक उमेश सर्बुजालाई सम्मान गरिएको हो ।
त्यस्तै लामो समयदेखि मौरीपालन व्यवसाय गरेर ख्याती कमाएका जैमिनी नगरपालिका ७ का मोहराज उपाध्याय, ढोरपाटन नगरपालिकामा सानो स्वर्ग काजिज फर्म संचालन गरेका चुडामणी कंडेल, बागलुङ कोसेली घर संचालक उद्योग बाणिज्य संघ र ऋषिका नर्सरीका संचालक भुवन बोहोरा समेत सम्मानित भएका हुन् ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले उद्यमी सम्मान गरेका थिए । उक्त अबसरमा खड्काले सीप सिकाउने र उद्यमी बढाउने काममा पर्यटन तथा उद्योग कार्यालयले साथ दिएकोमा बजारीकरणमा नगरपालिकाले सघाउने बताए । उनले प्रविधि हस्तान्तरणमार्फत उत्पादन बढाउने नगरपालिकाको पनि लक्ष्य रहेको खड्काले सुनाए । साथै, उद्यमशिलता बढाउन भएको पहलमा सबैले साथ दिनुपर्ने पनि बताए ।
कार्यक्रममा सहायक प्रजिअ पुष्पराज पौडेलले धेरै उत्पादन गरेर बजारीकरणमा सहजीकरणकै लागि पकेट क्षेत्रहरु चाहिएको भन्दै उद्यमी बढेर उत्पादनको थुप्रो लाग्नुपर्ने बताए ।
पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पारसिंह थापामगरको अध्यक्षता, शाखा अधिकृत बिष्णुनाथ शर्माको स्वागत र बद्रीनाथ गौतमको संचालनमा सम्पन्न कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल र सम्मानित प्रेमकुमारी श्रीषले पनि मन्तव्य राखेका थिए ।
बागलुङमा पछिल्लो समय साना तथा मझौला उद्योग संचालन बढ्दो दरमा रहेका उद्योगलाई नियमित चल्ने बनाउन प्रशासन र नगरपालिकाको सहयोग चाहिएको उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलले बताए ।