बागलुङ, १७ मंसिर- जिल्लामा ९ वर्षपछि हनुमान नाँच देखाउन शुरु गरिएको हनुमान नाँचको लोकतान्त्रिक चोकमा सामुहिक पुजा गरिएको छ । विभिन्न कारणले ९ वर्षसम्म नदेखाइएको नाच यसवर्ष देखाउन शुरु गरिएको र टोल टोलमा गरिने पुजाअन्तर्गत लोकतान्त्रिक चोकमा सामूहिक पुजा गरिएको हो ।
विशेष पूजामा हनुमान नाँचको सबै ताल बजेको हनुमान नाच परिषदले जनाएको छ । टोल पुजाअन्तर्गत महेन्द्रपथ, हल्लनचोक, उद्योग बाणिज्य संघ रोडको पुजा लोकतान्त्रिक चोकमा गरिएको हो । नारायणचोक चौतारीमा रहेको अखडाबाट आएर सम्बन्धित टोलको परिक्रमा गरि पुजा गरिएको हनुमान नाँच परिषदका सचिव जय राजभण्डारीले जानकारी दिए ।
३ सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान नाँचको संरक्षणका लागि भदौ ११ गतेदेखि आगामी चैत्र मसान्तसम्म प्रर्दशन गर्नेगरी देखाउन शुरु गरिएको राजभण्डारीले जानकारी दिए ।
अन्य स्थानमा लोप हुन लागेको अवस्थामा बागलुङमा अझै पनि सुरक्षित रहेको नाँच बिजोड वर्षमा देखाउनुपर्ने भएकाले ९ वर्षपछि देखाउन लागिएको प्रधान कजी इश्वरप्रसाद श्रेष्ठले बताए । यसले नाँचको संरक्षणमा थप टेवा पुग्ने श्रेष्ठले विश्वास व्यक्त गरे ।
विशेष गरी मंगलबार, बिहिबार र शनिबार मात्र देखाइने नाँचमा १३ जोडा अर्थात् २६ जनाले नृत्य प्रर्दशन गर्दै आएको उल्लेख गर्दै परिषदका अध्यक्ष श्रेष्ठले नृत्य तथा बाद्यबादनमा सहभागी हुने कलाकार र कजी नाँच देखाउने अवधिभर शुद्ध बस्नुपर्ने प्रावधान रहेको बताए ।