बागलुङ, १८ माघ- न्यू एभरेष्ट एकेडेमी बागलुङको १९ औं वार्षिकोत्सव बिहिबारदेखि सुरु भएको छ । सप्ताहव्यापी बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित विद्यालयले वार्षिकोत्सव मनाउन थालेको हो ।
विद्यार्थीलाई रचनात्मक प्रयोगितात्मक कार्यक्रममा सहभागि गराउने, शिक्षक, अभिभावक र विद्यार्थीको सहभागितामा खेलकुद तथा साहित्यि र संगीतका कार्यक्रमसहित वार्षिकोत्सव मनाउन लागिएको प्रधानाध्यापक कृष्ण अधिकारीले बताए ।
वार्षिकोत्सवको बिहिबार बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै खड्काले शिक्षामा व्यवहारिकता आवश्यक रहेको औंल्याए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले विद्यार्थी, शिक्षक र अभिभावकको मेहनतले मात्रै बिद्यालयको गरिमा बढ्ने बताए ।
बागलुङ नगरपालिका वडा नं. १ का अध्यक्ष जयबहादुर खत्रीले विद्यालयलाई १९ औं वर्षगाँठको शुभकामना दिए । बागलुङ नगरस्तरीय बाल सञ्जालकी अध्यक्ष अनुष्का कँडेलले बालमैत्री शिक्षा अहिलेको आवश्यकता रहेको बताईन् ।
जिद्यालयले चालु शैक्षिक सत्रको तेस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई पुरस्कार वितरण तथा नतिजा प्रकाशन गरेको थियो । माघ २२ गतेसम्म हरेक दिन फरक प्रतियोगितात्मक कार्यक्रम गरिने छ । उद्घाटन कार्यक्रम अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता र शिक्षक माधव शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।