बागलुङ/बागलुङ नगरपालिका वडा नं. ७ कालीमाटीमा शनिबार सञ्चालित बृहत स्वास्थ्य शिविरबाट ४ सय १० जना बिरामीले सेवा लिएका छन् । रोटरी क्लब अफ बागलुङ र रोटरी क्लव आफ मिड टाउन पोखराको आयोजनामा भएको शिविरमा बिरामीको ओईरो लागेको हो ।
स्त्रीरोग, मुटुरोग, पेटछाती, छाला, हाड जोर्नी तथा नशा, मृगौला तथा मुत्ररोग, नाक कान घाँटी र प्रयोगशाला सेवा समेत गरेर ४ सय १० जना बिरामीले सेवा लिएको रोटरी क्लब अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिए ।
वरिष्ठ सर्जन डा. भोजराज न्यौपाने, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.चण्डिका न्यौपाने र बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ पबिन थापाले शिविरमा सेवा दिएका थिए । उनीहरुलाई कालिमाटी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले सहयोग गरे । बिरामीलाई जाँच गर्ने, प्रयोगशालामा जाँच गर्ने र निशुल्क औषधि उपलव्ध गराईएको शर्माले बताए ।
रोटरी क्लफ अफ मिड टाउन पोखराका अध्यक्ष सूर्यनारायण बरालको अध्यक्षता, सचिव जीवन न्यौपानेको सञ्चालन र रोटरी क्लव अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्माको जानकारीमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका ७ का वडा अध्यक्ष मेघराज गैरे, डा. चण्डिका न्यौपाने लगायतले शुभकामना व्यक्त गरे ।